इरानमा सत्ता पल्टाउनमा जर्मनीमा प्रदर्शन - MirrorNepal.com

इरानमा सत्ता पल्टाउनमा जर्मनीमा प्रदर्शन


काठमाडाैं । जर्मनीको म्युनिख सहरमा जारी सुरक्षा सम्मेलनका क्रममा इरानी सरकारविरुद्ध ठूलो प्रदर्शन भएको छ। प्रहरीका अनुसार करिब २ लाख ५० हजार मानिस उक्त विरोध र्‍यालीमा सहभागी भएका थिए।

यो प्रदर्शन निर्वासित इरानी क्राउन प्रिन्स रेजा पहलवीको अपिलपछि आयोजित गरिएको हो। उनले तेहरानमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन विश्व समुदायसँग आग्रह गरेका थिए।

म्युनिखका सडकहरूमा प्रदर्शनकारीहरूले ढोल बजाउँदै सरकार परिवर्तनको मागसहित नारा लगाएका थिए। यो कार्यक्रम पहलवीले आह्वान गरेको ‘ग्लोबल डे अफ एक्शन’ अभियानअन्तर्गत थियो, जसको उद्देश्य इरानभित्र भइरहेका विरोध आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो। यस्तै र्‍यालीका लागि लस एन्जलस र टोरन्टोमा पनि अपिल गरिएको थियो।

प्रदर्शनमा सहभागीहरूले सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघिको इरानको झन्डा फहराएका थिए, जसमा सिंह र सूर्यको प्रतीक अंकित थियो।

मिडियासँगको कुराकानीमा रेजा पहलवीले लोकतान्त्रिक राष्ट्रहरू इरानमा भइरहेको दमनबारे मौन बसे थप जनधनको क्षति हुन सक्ने चेतावनी दिए। उनले प्रश्न उठाए-“यो संकटको घडीमा के विश्व समुदाय इरानी जनताको साथमा उभिन्छ?”

उनका अनुसार यदि वर्तमान इरानी शासन टिकिरह्यो भने त्यसले विश्वका अन्य तानाशाहहरूलाई ‘हिंसा गरेर सत्ता जोगाउन सकिन्छ’ भन्ने सन्देश दिनेछ।

र्‍यालीमा केही प्रदर्शनकारीहरूले ‘मेक इरान ग्रेट अगेन’ लेखिएको रातो टोपी लगाएका थिए, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘MAGA’ अभियान शैलीसँग मिल्दोजुल्दो देखिन्थ्यो। अमेरिकी सिनेटर लिंडसे ग्राहमले पनि र्‍यालीलाई सम्बोधन गरेका थिए र उनी पनि यस्तै टोपी हातमा लिएका देखिएका थिए।

जर्मनीसँगै साइप्रसको राजधानी निकोसियामा करिब ५०० जनाले इरानी सरकारविरुद्ध प्रदर्शन गरेका थिए। सहभागीहरूले पहलवीलाई आफ्नो राजा भन्दै समर्थन जनाएका थिए। हटाइएका इरानी शाहका छोरा पहलवी झण्डै ५० वर्षदेखि निर्वासनमा छन् र इरानको भविष्यमा आफूलाई महत्वपूर्ण भूमिकामा प्रस्तुत गर्ने प्रयासमा छन्।

प्रदर्शनकारीहरूले इरानभित्र इन्टरनेट सेवा बन्द गरिएकाले त्यहाँका नागरिकको आवाज बाहिर आउन नसकेको भन्दै चिन्ता व्यक्त गरे। मानवअधिकार संस्थाहरूका अनुसार पछिल्लो महिनामा भएका विरोध प्रदर्शनमा कम्तीमा ७,००५ जनाको मृत्यु भएको छ, जसमा २१४ सुरक्षाकर्मी पनि रहेका छन्। यद्यपि इरान सरकारले मृत्यु हुनेको संख्या ३,११७ मात्रै भएको दाबी गरेको छ।

यसबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप दबाब सिर्जना गर्दै सैन्य कारबाहीको चेतावनी दिएका छन्। उनले इरानमा शासन परिवर्तन नै उपयुक्त विकल्प हुन सक्ने संकेत पनि गरेका छन्। एजेन्सी

तपाईको बिचार