अमेरिका र इरानबीच वार्ता विफल, जुनसुकै बेला युद्द सुरु हुने - MirrorNepal.com

अमेरिका र इरानबीच वार्ता विफल, जुनसुकै बेला युद्द सुरु हुने


काठमाडाैं । मध्यपूर्व क्षेत्रमा ठूलो युद्धको सम्भावना बढ्दै गएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि सम्भावित आक्रमणका लागि सेना शनिबारसम्म पूर्ण रूपमा तयार रहेको प्रतिवेदन बुझाएका छन्।

राष्ट्रपति ट्रम्पले इरानले परमाणु सम्झौता नगरेमा अमेरिकाले डिएगो गार्सिया तथा बेलायतस्थित आफ्ना सैन्य अड्डाहरू प्रयोग गरी आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले इरानले बेलायतसहित अन्य अमेरिकी मित्र राष्ट्रहरूलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। इरानले आफ्नो परमाणु कार्यक्रम बन्द गर्न अस्वीकार गरेपछि परमाणु वार्ता विफल भएको बताइएको छ।

यद्यपि ट्रम्प प्रशासनले अझै १५ दिनसम्म कूटनीतिक पहलको सम्भावना खुला राखेको छ। तर पछिल्लो २४ घण्टामा अमेरिकाले मध्यपूर्व क्षेत्रमा ५० भन्दा बढी लडाकु विमान तैनाथ गरेपछि तनाव झन् चर्किएको छ।

योसँगै अमेरिका र इरानबीचको अवस्था अहिले ठूलो युद्धको संघारमा पुगेको आकलन गरिएको छ। सैन्य तथा राजनीतिक संरचनासहित हजारौँ सम्भावित लक्ष्यहरू अमेरिकी सेनाको निशानामा रहेको बताइन्छ।

पूर्वनिर्धारित लक्ष्यहरूमा आक्रमण हुन सक्ने सम्भावना पनि औँल्याइएको छ। अमेरिकाले आफ्नो नौसेनाको करिब एक तिहाइ शक्ति मध्यपूर्वमा तैनाथ गरिसकेको छ, जसमा लडाकु विमान र दुई विशाल विमानवाहक पोतसमेत समावेश छन्।

दुवै विमानवाहक पोतमा १५० भन्दा बढी अत्याधुनिक हतियारसहितका विमान तैनाथ गरिएको जनाइएको छ। एकै दिन ५० वटा एफ–३५, एफ–२२ र एफ–१६ लडाकु विमान उक्त क्षेत्रमा पठाइएको छ। करिब ३३ समुद्री जहाज, जसमा विध्वंसक पोत तथा टोमाहक मिसाइलले सुसज्जित पनडुब्बीहरू पनि समावेश छन्, तैनाथ गरिएको छ।

इरानविरुद्ध अमेरिकाको सम्भावित सैन्य अभियान आधुनिक इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली अभियान हुन सक्ने आकलन गरिएको छ। – एजेन्सी

तपाईको बिचार