काठमाडाैं । पाकिस्तानले अफगानिस्तानविरुद्ध हवाई हमला गरेको जनाएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उक्त कारबाहीमा ७२ जना तालिबान लडाकु मारिएका छन् भने १२० भन्दा बढी घाइते भएका छन्।
हमलापछि राजधानी काबुलमा राति ढिलोसम्म विस्फोट र लडाकु विमानहरूको आवाज सुनिएको बताइएको छ। पाकिस्तानी वायुसेनाले तालिबानका सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरिएको छ। केही आवासीय क्षेत्रमा समेत क्षति पुगेको खबर सार्वजनिक भएको छ।
पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले अफगानिस्तानभित्र गरिएको हवाई कारबाहीको पुष्टि गरेका छन्। उनका अनुसार काबुलसँगै कन्धार र पक्तिया क्षेत्रमा पनि आक्रमण गरिएको हो। अफगान सुरक्षाबलका केही अड्डा नष्ट गरिएको दाबी पाकिस्तानले गरेको छ।
पाकिस्तानी पक्षका अनुसार अघिल्लो रात अफगानिस्तानबाट सीमा क्षेत्रमा आक्रमण भई केही चौकी कब्जा गरिनुका साथै सैनिक मारिएको घटनापछि जवाफी कारबाही गरिएको हो। आगामी दिनमा पनि यस्तै कदम चालिने चेतावनी पाकिस्तानले दिएको छ।
अफगानिस्तान पक्षले भने २२ फेब्रुअरीमा पाकिस्तानले गरेको हमलाको प्रतिकारस्वरूप सीमा चौकीहरूमा स्थलमार्गबाट आक्रमण गरेको जनाएको छ। तालिबान लडाकुले केही पाकिस्तानी चौकी कब्जा गरी सैनिक मारिएको दाबी गरेका छन्। त्यसको जवाफमा पाकिस्तानले हवाई आक्रमण र भारी गोलीबारी गरेको बताइएको छ।
काबुलका साथै कन्धार र पक्तिया क्षेत्रमा पाकिस्तानी लडाकु विमानले आक्रमण गरेको र विस्फोट भएका खबरहरू सार्वजनिक भएका छन्। अफगानिस्तानले हालसम्म क्षतिको आधिकारिक विवरण सार्वजनिक गरेको छैन। यद्यपि पाकिस्तानले ७० भन्दा बढी तालिबान लडाकु मारिएको दाबी दोहोर्याएको छ। विभिन्न स्थानमा विस्फोटपछि आगलागीसमेत भएको बताइएको छ।
यसैबीच, डुरन्ड लाइनको वैधताबारे दुवै देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ, जसलाई अफगानिस्तानले अवैध सीमा मान्दै आएको छ भने पाकिस्तानले औपचारिक अन्तर्राष्ट्रिय सीमा मानेको छ। -एजेन्सी
तपाईको बिचार