इरानका राष्ट्रिय सुरक्षा परिषदका प्रमुख लारिजानी मारिए - MirrorNepal.com

इरानका राष्ट्रिय सुरक्षा परिषदका प्रमुख लारिजानी मारिए


  • Mirror Nepal ३ चैत २०८२, बुधबार १४:०३:०३

काठमाडौँ। इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण गर्ने जिम्मेवारी सम्हाल्दै आएको थियो । मंगलबार परिषद्ले विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको हो ।

यसअघि इजराइली रक्षामन्त्री इजराइल कात्जले इजराइली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए । युद्ध सुरु भएयता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

परिषद्का अनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र सहायक अलीरेजा बायात पनि मारिएका छन् । लारिजानी इरानको सत्ता संरचनाभित्र प्रभावशाली तथा व्यवहारिक नेताका रूपमा चिनिन्थे। इजराइलले इरानका अन्य सुरक्षा अधिकारीहरूलाई पनि निशाना बनाएको जनाएको छ ।

इरानी अर्धसैनिक बलका प्रमुख घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले थप आक्रमण जारी रहने संकेत दिएका छन् । तीन साताभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायल युद्ध क्रमशः क्षेत्रीय द्वन्द्वतर्फ फैलिँदै गएको छ।

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले युद्धविराम वा तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको उच्च इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उनी इजराइल र अमेरिका पछि नहटेसम्म शान्ति सम्भव नहुने पक्षमा रहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी देशहरूले पर्याप्त सैन्य साथ नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले नेटो सदस्य राष्ट्रहरू, जापान, अस्ट्रेलिया र दक्षिण कोरियाको भूमिकाप्रति आलोचना गरेका छन्। यद्यपि धेरै पश्चिमी देशहरूले प्रत्यक्ष संलग्नता अस्वीकार गरेका छन्।

स्ट्रेट अफ हर्मुज लगभग बन्दजस्तै हुँदा विश्व तेल आपूर्तिमा असर परेको छ। विश्वभर आपूर्ति हुने तेलमध्ये २० प्रतिशतभन्दा बढी यही मार्गबाट जान्छ। युद्ध सुरु भएयता तेलको मूल्य करिब ४५ प्रतिशतले बढेको छ। इरानले अमेरिका र इजराइलसँग सम्बन्धित ट्यांकरहरूलाई निशाना बनाउने चेतावनी दिइरहेको छ।

युरोपेली संघकी विदेश नीति प्रमुख काजा काल्लासले जलडमरूमध्य खुला राख्न कूटनीतिक पहल आवश्यक रहेको बताएकी छन्। स्थिति थप बिग्रिए खाद्य, मल र ऊर्जामा विश्वव्यापी संकट आउन सक्ने उनको भनाइ छ।

इरानले तेल उत्पादन केन्द्र तथा छिमेकी खाडी मुलुकहरूमा आक्रमण तीव्र बनाएको जनाएको छ। इजराइलको व्यापारिक केन्द्र तेल अभिभमा इरानी क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। युद्ध सुरु भएयता इजरायलमा मृतक संख्या १४ पुगेको छ।

इरानले प्रतिशोधस्वरूप क्लस्टर हतियार प्रयोग गरेको दाबी गरेको छ, जसले ठूलो क्षेत्रमा क्षति पुर्‍याउने क्षमता राख्छ। निरन्तर बमबारीका बाबजुद इरानले लामो दूरीका आक्रमण क्षमता प्रदर्शन गरेको विश्लेषण गरिएको छ। एजेन्सी

तपाईको बिचार