काठमाडौं। अमेरिका–इरानबीच तत्काल युद्धविराम सहमति भएको छ । पाकिस्तानका प्रधानमन्त्री शेह्बज़ शरिफले अमेरिका र इरानसहित उनीहरूका सहयोगीहरूबीच लेबनानलगायत सबै द्वन्द्वग्रस्त क्षेत्रमा तत्काल लागू हुने युद्धविराममा सहमति भएको घोषणा गरेका छन्।
इस्लामाबादमा थप वार्ता अप्रिल १० मा हुने प्रधानमन्त्री शरिफले बुधबार बिहान सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै उनले इस्लामिक इरान र अमेरिकाले आफ्ना सहयोगीहरूसहित सबै क्षेत्रमा तत्काल युद्धविराम लागू गर्ने निर्णयमा पुगेको उल्लेख गरे।
प्रधानमन्त्री शरीफका अनुसार, दुवै पक्षले उच्चस्तरीय समझदारी र परिपक्वता प्रदर्शन गर्दै शान्ति र स्थायित्व कायम गर्ने दिशामा रचनात्मक भूमिका निर्वाह गरेका छन्।
उनले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई आगामी शुक्रबार इस्लामाबादमा आमन्त्रण गरिएको जानकारी दिँदै सबै विवादहरूको स्थायी समाधानका लागि थप वार्ता गरिने बताए।
शरीफले ‘इस्लामाबाद वार्ता’ सफल भई दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गर्दै निकट भविष्यमा थप सकारात्मक परिणाम सार्वजनिक हुने अपेक्षा गरेका छन्।
इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामलाई स्वीकार गरेको छ । यद्यपि, यसले स्पष्ट पारेको छ कि युद्धविराम लेबनानमा लागू हुनेछैन ।
आफ्नो आधिकारिक विज्ञप्तिमा, इजरायलले भन्यो, ‘हामी राष्ट्रपति ट्रम्पको इरानमाथि आक्रमण दुई हप्तासम्म रोक्ने निर्णयलाई समर्थन गर्छौं, यदि इरानले तुरुन्तै होर्मुजको जलडमरू खोल्छ र अमेरिका, इजरायल र अन्य देशहरूमाथि आक्रमण बन्द गर्छ भने।’
इरानले अब आणविक हतियार, क्षेप्यास्त्र वा आतंकवादको लागि खतरा नबनाउने सुनिश्चित गर्ने अमेरिकाको प्रयासलाई इजरायलले समर्थन गरेको जनाएको छ । ‘अमेरिकाले इजरायललाई यी लक्ष्यहरू प्राप्त गर्न प्रतिबद्ध रहेको जानकारी दिएको छ। अमेरिकाले आगामी वार्तामा हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग यी लक्ष्यहरू साझा गर्नेछ,’ इजरायलले भनेको छ ।
यद्यपि, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले एक एक्स पोस्टमा युद्धविराम लेबनानमा पनि लागू हुने बताएका थिए। यद्यपि, इजरायलले युद्धविराम लेबनानमा लागू नहुने बताएको छ ।
इजरायलको सेनाले हिजबुल्लाहको खतरा समाप्त नभएसम्म लेबनानबाट नहट्ने बताएको छ। फेब्रुअरी २८ मा युद्धको घोषणा गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, ‘यो अपरेशनको लक्ष्य इरानको अयातोल्लाह शासनबाट खतरा हटाउनु हो र यो अपरेशन आवश्यक परेसम्म जारी रहनेछ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण दुई हप्ताका लागि स्थगित गर्ने निर्णय गरेका छन्। उक्त निर्णयको प्रभाव विश्व बजारमा तुरुन्तै देखिएको छ।
निर्णयपछि कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अमेरिकी कच्चा तेलको मूल्य १८ प्रतिशतले घटेर करिब ९२.६० डलर प्रतिब्यारेलमा झरेको छ भने ब्रेन्ट क्रुड ६ प्रतिशतले घटेर करिब १०३.४० डलर प्रतिब्यारेल पुगेको छ। यद्यपि, यी मूल्यहरू अझै पनि युद्ध सुरु हुनुअघिको स्तरभन्दा माथि नै रहेका छन्।
यसैबीच, अमेरिकी सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। बजारमा आएको सुधारले लगानीकर्ताहरूको आत्मविश्वास बढाएको बताइएको छ। सैन्य तनाव घट्दै गएमा आर्थिक अवस्था थप स्थिर हुन सक्ने अपेक्षा गरिएको छ।
यसअघि ट्रम्पले इरानमाथि हुने भनिएको सम्भावित बमबारी दुई हप्ताका लागि रोकिएको घोषणा गरेका थिए। उनले यो ‘दुवै पक्षबाट लागू हुने युद्धविराम’ हुने स्पष्ट पारेका छन्। यस अवधिमा अमेरिका र इरानले आक्रामक कदम नचाल्ने जनाइएको छ।
इरानले अमेरिकासमक्ष राखेको १० बुँदे शान्ति योजनामा
दिगो शान्ति सम्झौताका लागि इरानले अमेरिकालाई १० बुँदे योजना पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे थप छलफल गर्न सकिने बताएका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो १० बुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ । परिषद्का अनुसार, सम्झौता इरानको सर्तहरूमा भएको थियो र यसलाई देशको लागि एक प्रमुख रणनीतिक विजयको रूपमा वर्णन गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार अमेरिकाले गैर-आक्रमणको ग्यारेन्टी, हर्मुज जलमार्गमा इरानको नियन्त्रण कायम राख्ने र युरेनियम संवर्धन स्वीकार गर्नेजस्ता प्रमुख सर्तहरूमा सहमति जनाएको इरानले दाबी गरेको छ ।
१० बुँदे योजना :
१. आक्रमणहरूको पूर्ण अन्त्य
इरानले अमेरिका र इजरायलद्वारा सबै सैन्य आक्रमणहरू अन्त्य गर्न माग गरेको छ ।
२. सबै प्रतिबन्धहरू हटाउने
इरानले सबै आर्थिक प्रतिबन्धहरू हटाउन माग गरेको छ ।
३. स्थिर सम्पत्तिहरू फिर्ता
इरानले आफ्नो सबै जम्मा गरिएको कोष र सम्पत्ति फिर्ता गर्न माग गरेको छ।
४. युद्धको स्थायी अन्त्य
इरानले युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य माग गरेको छ ।
५. अमेरिकी सेना फिर्ता
इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूबाट अमेरिकी सेना फिर्ताको माग गरेको छ ।
६. क्षतिको क्षतिपूर्ति
इरानले युद्ध क्षतिको लागि आर्थिक क्षतिपूर्ति वा पुनर्निर्माणको माग गरेको छ ।
७. होर्मुज जलमार्गमा नियन्त्रण
इरानले हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्ने शर्त राखेको छ।
८. सर्तहरूसहित सुरक्षित यात्रा
इरानले इरानी सेनासँग समन्वयमा जहाजहरूलाई होर्मुज हुँदै जान अनुमति दिइने बताएको छ ।
९. प्रतिजहाज प्रस्तावित शुल्क
इरानले प्रतिजहाज लगभग २ मिलियन शुल्क प्रस्ताव गरेको छ, जुन ओमानसँग साझा गरिनेछ।
१०. क्षेत्रीय द्वन्द्व अन्त्य
मागहरूमा लेबनानमा हिजबुल्लाहमाथि आक्रमणसहित क्षेत्रीय तनावको अन्त्य पनि समावेश छ । एजेन्सी
तपाईको बिचार