काठमाडौँ। साताको चौथो कारोबार दिन बुधबार नेप्से ४५.१२ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.६३ प्रतिशतले बढेको नेप्से २८०२.५२ विन्दुमा अडिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ५.७५ अंकले बढेर ४७६.८८ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा १.२२ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स १.५३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३० प्रतिशतले बढेको छ।
सेयरबजारमा बुधबार ३४६ कम्पनीको ९८ हजार १६२ पटकको कारोबारमा एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आइतबार भने १२ अर्ब ३८ करोड नौ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको थियो। सोमबार १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहका सूचकमा हरियाली देखियो। जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक १.१५‚ विकास बैंक १.९८‚ फाइनान्स १.४५‚ होटेल तथा पर्यटन २.५६‚ जलविद्युत् २.६१ प्रतिशतले बढ्यो।
यसैगरी लगानी समूहको उपसूचक १.३५‚ जीवन बिमा १.३१‚ उत्पादन तथा प्रशोधन ३.८७‚ लघुवित्त १.२८‚ म्युचुअल फन्ड ०.९९‚ निर्जीवन बिमा १.०१‚ अन्य ०.१५ र व्यापार समूहको उपसूचक ०.६१ प्रतिशतले उकालो लाग्यो।
नेप्सेमा बुधबार चारवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड‚ श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेड‚सोलु हाइड्रोपावर लिमिटेड र होटेल फरेस्ट इन नेपाल छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
तपाईको बिचार