काठमाडौ। इजरायलले लगातार लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहमाथि ठूलो आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ। जलमार्ग बन्द भएसँगै अमेरिका–इरानबीचको युद्धविराम सम्झौता अन्योलमा परेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इजरायलले बेरुतका व्यापारिक तथा आवासीय क्षेत्रमा गरेको आक्रमणमा धेरै मानिसको ज्यान गएको छ। अमेरिकाले इरानलाई तत्काल जलमार्ग खोल्न आग्रह गरेको छ। तर इरानले अमेरिकाले १० बुँदे शर्तमध्ये तीनवटा उल्लंघन गरेको दाबी गर्दै अबको वार्ता अर्थहीन हुने जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा युद्ध अन्त्य हुनु पनि युद्धविरामकै हिस्सा भएको बताएका छन् । उता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले लेबननमा इसराइलको आक्रमणबारे कडा निन्दा गरेका छन्। उनले लेबनन पनि युद्धविराममा समेटिनुपर्ने बताएका छन्। बुधबार जापान, क्यानडा लगायत १३ देशले युद्धविरामको स्वागत गरी द्वन्द्वको पूर्ण समाधान माग गरेका थिए।
युद्धविरामका लागि मुख्य मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले दुवै दीर्घकालीन शान्तिका लागि थप छलफल गर्न शुक्रबार इस्लामावादमा निम्तो दिएको छ। यद्यपि पछिल्लो घटनाक्रमहरूले संवाद अघि बढ्नेमा शंका उत्पन्न भएको छ। एजेन्सी
तपाईको बिचार