काठमाडौं । उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ । उनी २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ । संसदको सबैभन्दा ठुलो दलले समर्थन गरेपछि उपसभामुखका लागि उम्मेदवारी दिएकी ठाकुरको जीत पक्का जस्तै भएको छ ।
यस्तै उपसभामुखका लागि राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी पनि राप्रपाको समानुपातिक सांसद हुन् । उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो । सभामुख पुरुष भएकाले उपसभामुख महिला हुनुपर्ने संवैधानिक बाध्यता छ ।
रास्वपा सभापति रवि लामिछानेसँग उपसभामुखको विषयमा राप्रपाले छलफल समेत गरेको थियो । तर रास्वपाले अन्तिममा श्रम संस्कृति पार्टिलाई समर्थन गरेको छ ।
लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद भएकी हुन् ।
तपाईको बिचार