प्रधानमन्त्रीद्वारा श्रममन्त्री साह १३ दिनमै बर्खास्त - MirrorNepal.com

प्रधानमन्त्रीद्वारा श्रममन्त्री साह १३ दिनमै बर्खास्त


  • Mirror Nepal २५ चैत २०८२, बिहिबार १४:५५:३२

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्।

पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए। साहले पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेका थिए। उनको पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि उनलाई प्रधानमन्त्रीले हटाएका हुन्। उनी १३ दिनअघि मन्त्रीमा नियुक्त भएका थिए।

यसैगरी, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेका छन् ।

प्रधानमन्त्रीले शाहले श्रममन्त्री दीपककुमार साहलाई हटाउने अन्तिम तयारी गरेका थिए । विभिन्न विवादमा मुछिएका साहको विगत पनि विवादित पृष्ठभूमिको रहेको बुझिएको छ । रास्वपाले आफ्ना सांसदलाई मन्त्रीमा पठाउँदा जुनसुकै बेला फिर्ता बोलाउन सक्ने भनेको थियो ।

श्रममन्त्री साह १३ चैतमा मन्त्रीमा नियुक्त भएका थिए । महोत्तरी–२ बाट निर्वाचित उनी लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन गरेर आएका हुन् । डा. स्वर्णिम वाग्लेनिकट उनलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रधानमन्त्री शाह निकट अर्का एक सांसदका अनुसार श्रम मन्त्रालयमा उनलाई प्रस्ताव गरिएको थियो । तर, उनले अन्य केही व्यक्तिको नाम दिएका छन् । ‘सम्भवतः आज बिहीबार नयाँ श्रममन्त्री ल्याउने तयारी छ,’ उनले भने, ‘अमरेशकुमार सिंहले लिन अनिच्छा गरेको र हाल प्रधानमन्त्री मातहत रहेको उद्योग मन्त्रालयमा पनि सँगै मन्त्री नियुक्ति गर्ने तयारी शाहले गरेका हुन् ।’

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री शाहले आफ्नो पक्षबाट श्रममन्त्री राख्ने बुझिएको छ भने उद्योगमा पार्टी सभापति रवि लामिछानेलाई नाम दिन भनेका छन् । प्रधानमन्त्री शाहको पक्षबाट श्रममन्त्रीमा चार जनाको नाम चर्चामा छ । जसमा धनुषा ४ का राजकिशोर महतो, रौतहट ३ बाट प्रभु साहलाई हराएका रवीन्द्र पटेल, सप्तरी ४ का सीताराम साह रहेका छन् ।

यसैगरी समानुपातिक निर्वाचित खगेन्द्र कर्णको नाम पनि श्रममन्त्रीको रूपमा चर्चामा आएको बुझिएको छ । पेशाले इन्जिनियर सप्तरीका कर्ण नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए ।

तपाईको बिचार