काठमाडौं । भारतको केन्द्र शासित लद्दाखमा पनि सामाजिक सञ्जालमार्फत मानिस सडकमा उत्रिएका छन्। नेपालमा जस्तो जेनजीको नाममा प्रदर्शन नभए पनि सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा मानिस सडकमा उत्रिएका छन्।
उनीहरुले लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने मागसहित बुधबार लेहमा हिंसात्मक प्रदर्शन भएको छ। यस क्रममा विद्यार्थी र प्रहरी तथा सुरक्षाबलबीच झडप भयो। विद्यार्थीले भाजपा कार्यालयमा आगजनी गरेका थिए भने प्रहरीमाथि ढुंगामुढा गरे साथै सिआरपीएफको गाडीमा समेत आगो लगाइदिए।
हिंसात्मक प्रदर्शनपछि प्रशासनले लेहमा अनुमति बिना र्याली वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। यी विद्यार्थी सामाजिक अभियन्ता सोनम वाङचुकको समर्थनमा सडकमा उत्रिएका थिए। सोननम वाङचुक १५ दिनदेखि आमरण अनशनमा बसेका थिए। मागहरू पूरा नभएको विरोधस्वरूप प्रदर्शनकारीहरूले आज बन्द आह्वान गरेका थिए, जसै क्रममा हिंसा भड्किएको हो। वाङचुक त्यहाँका सामाजिक अभियान्ता हुन्। उनकै प्रेरणामा आधारित भएर थ्री इडीयट्समा आमिर खानले फुंकसुक वाङ्डुको भुमिका निभाएको मानिन्छ।
हिंसा भड्किएपछि वाङचुकले अनशन तोड्दै चार बुँदे माग सम्बोधन गर्न अपिल गरेका छन्। जसमा लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनु पर्ने, भारतीय संविधानको अनुसूची ६ अनुसार संवैधानिक सुरक्षा, कारगिल तथा लेहमा अलग-अलग लोकसभा सिट र सरकारी जागिरमा स्थानीयलाई भर्ती गर्नुपर्ने माग राखिएको छ।
यी मागहरूबारे अर्को बैठक अक्टोबर ६ मा दिल्लीमा हुने जनाइएको छ। सन् २०१९ मा धारा ३७० र ३५ (ए) खारेज गर्दा जम्मु–कश्मीर र लद्दाखलाई दुईवटा केन्द्र शासित प्रदेश बनाइएको थियो। त्यतिबेला सरकारले परिस्थिती सामान्य भएपछि पुनः पूर्ण राज्यको मान्यता दिने आश्वासन दिएको थियो।
सामाजिक सञ्जालमार्फत ठुलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए। आन्दोलनकारीहरूले मंगलबार राति (२४ सेप्टेम्बर) का लागि लद्दाख बन्दको आह्वान गरेका थिए। भीड उतार्न सामाजिक सञ्जालको प्रयोग गर्दै मानिसहरूलाई लेह हिल काउन्सिलमा आउन अपील गरिएको थियो। यसको असर स्वरुप ठूलो संख्यामा भीड जम्मा भएको थियो।
लेह हिल काउन्सिल अगाडि आन्दोलनकारीलाई रोक्न प्रहरीले बार लगाएको थियो। आन्दोलनकारी अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्योर। तर भीड उग्रिँदै प्रहरीले प्रयोग गरेको गाडीमा आगजनी गर्याे र तोडफोडसमेत गरेको थियो।
तपाईको बिचार