इस्लामिक नेटो’ गठनबारे टर्की, पाकिस्तान र साउदी अरबबीच छलफल - MirrorNepal.com

इस्लामिक नेटो’ गठनबारे टर्की, पाकिस्तान र साउदी अरबबीच छलफल


काठमाडौं । पाकिस्तान र साउदी अरबबीच बनाइएको रक्षा गठबन्धनमा टर्कीले सामेल हुन चासो देखाएको अमेरिकी अखबार ब्लुमबर्गले जनाएको छ । यस विषयमा वार्ता निकै अगाडि बढिसकेको छ र सम्झौता हुने सम्भावना उच्च रहेको जनाइएको छ ।

पाकिस्तान र साउदी अरबले सन् २०२५ सेप्टेम्बरमा ‘स्ट्राटेजिक म्युचुअल डिफेन्स एग्रिमेन्ट’मा हस्ताक्षर गरेका थिए । त्यसमा दुईमध्ये कुनै एक देशमाथिको आक्रमणलाई अर्को मुलुकमाथिको हमला मानिने उल्लेख छ ।

यो प्रावधान नेटोको ‘आर्टिकल ५’ जस्तै छ । यदि, टर्की यसमा सामेल भएमा यसले मध्यपूर्व र त्यसभन्दा बाहिरको शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउन सक्नेछ ।

टर्की नेटोको सदस्य राष्ट्र हो । र, अमेरिकापछि यो देशसँग दोस्रो ठूलो सेना छ । पाकिस्तानसँग टर्कीको सैन्य सम्बन्ध निकै घनिष्ठ छ ।

टर्कीले कश्मीर मुद्दामा पाकिस्तानलाई समर्थन गर्छ । २०२५ मेमा भारतसँग भएको चारदिने युद्धका क्रममा टर्कीले पाकिस्तानलाई ३५० भन्दा बढी ‘बायरक्तार टीबी२’ र अरू ड्रोनका साथै अपरेटर पनि उपलब्ध गराएको जनाइएको छ ।

टर्कीले पाकिस्तानी नौसेनाका निम्ति ‘बाबर–क्लास फ्रिगेट्स’ निर्माण गरिरहेको दाबी छ । साथै, टर्की एरोस्पेस इन्डस्ट्रिजले पाकिस्तानी वायुसेनाका ४२ एफ–१६ लडाकु विमानको ‘मिडलाइफ रिफिट’ गरिरहेको र यसले तिनीहरूको आयु १२ हजार घण्टासम्म बढाउने जनाइएको छ ।

अंकारास्थित थिंक ट्यांक टीईपीएभीका रणनीतिकार निहात अली ओजकानले ब्लुमबर्गलाई बताएअनुसार, यो गठबन्धन बनेमा शक्ति सन्तुलन बाँडिने बताइएको छ ।

सैन्य अनुभव र विकसित रक्षा उद्योगमा टर्की अब्बल छ । आणविक क्षमता र ब्यालिस्टिक मिसाइलमा पाकिस्तान शक्तिशाली छ । साउदी अरब तेलका कारण प्राप्त वित्तीय शक्तिका निम्ति अगाडि छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोको महत्त्व कम गर्ने र उक्त क्षेत्रमा अमेरिका–इजरायल हितलाई प्राथमिकता दिने नीति लिएपछि यी देशले नयाँ सुरक्षा संयन्त्र बनाउन लागेका हुन् ।

इस्लामिक नेटोको गठनपश्चात् टर्की र साउदी अरेबियाबीचको वर्षौंदेखिको प्रतिद्वन्द्विता अन्त्य भई नयाँ आर्थिक र रक्षा सहयोगको सुरुआत हुने जनाइएको छ ।

यी देशहरू इरानको बढ्दो प्रभाव, सिरियामा सुन्नी सरकार र प्यालेस्टाइन राज्यको स्थापनाजस्ता मुद्दामा चिन्तित रहेका जनाइएको छ । -ब्लुमबर्ग

तपाईको बिचार