काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न राउन्ड अफ १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने। उनले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त अवसरलाई एम्बाप्पेले सदुपयोग गरेका थिए।
जारी विश्वकपमा एम्बाप्पेको यो सातौँ गोल हो। उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त शीर्ष स्थानमा छन्। साथै, एम्बाप्पे मेसीको विश्वकपमा सर्वाधिक २० गोलको कीर्तिमानभन्दा एक गोलले मात्र पछाडि रहेका छन्।
खेलभर फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै ५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्यो। फ्रान्सले १५ पटक प्रहार गर्दा पाराग्वेले पाँच प्रहार मात्र गर्न सक्यो, जसमा एक प्रहार मात्र पोस्टको दिशामा थियो। विश्वकपमा १८औँ सहभागिता जनाइरहेको फ्रान्सले दसौँ पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो।
अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोली यसअघि सन् २०२२ को विश्वकपको सेमिफाइनलमा आमनेसामने भएका थिए, जहाँ मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको थियो।
तपाईको बिचार