पत्रकार पाठकलाई उपस्थित हुनू भन्दै साइबर ब्युरोद्वारा सूचना जारी - MirrorNepal.com

पत्रकार पाठकलाई उपस्थित हुनू भन्दै साइबर ब्युरोद्वारा सूचना जारी


  • MNN ३ असार २०८२, बुधबार ००:२१:२६

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई अनुसन्धानका लागि उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ । ब्युरोले काठमाडौं जिल्ला अदालतबाट २७ जेठमा पाठकविरुद्ध पक्राउ पुर्जी लिएको थियो । त्यसविरुद्ध पाठक उच्च अदालत पुगेका थिए । सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको पछिल्लो आदेशपछि साइबर ब्युरोले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘दिलभूषण पाठकज्यू, प्रस्तुत विषयमा परिवर्तित नाम ‘साइबर ब्युरो ५९ (२०८१/८२)’ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईं भएको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा तपाईंविरूद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ ।’

पाठकले आफ्नो युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले काठमाडौंस्थित हिलटन होटलमा लगानी गरेको भनी सामग्री सार्वजनिक गरेका थिए । उक्त विषयमा उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको हो ।

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफलका लागि अदालतले दुवै पक्षलाई असार ५ गते उपस्थित हुन बोलाएको छ ।

तपाईको बिचार