काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशालाई सम्मानित बनाउँदै देशको आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्न व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताउनु भयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको ’राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान’ कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि अध्ययन, अनुसन्धान र प्रसारलाई एकसाथ अघि बढाएर मात्र यस क्षेत्रको रूपान्तरण सम्भव हुने बताउनु भयो ।
“कृषि मूलम् त जीवनम्,“ भन्ने पुरानो उक्तिलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलले नेपालको जीवन नै कृषिमा आधारित भएको बताउनु भयो । विगतमा अशिक्षित र गरिब परिवारको पेशाका रूपमा हेरिने कृषिले अहिले आफ्नो परिचय फेरेको उँहाको भनाइ थियो। ’अहिले शिक्षित युवावर्ग र उच्च आय भएका परिवारले पनि कृषिलाई मुख्य पेशा बनाई लाखौँ आम्दानी गरिरहेका छन्, यो सुखद परिवर्तन हो,’ उँहाले भन्नु भयो।
राष्ट्रपति पौडेलले कृषि क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत योगदान दिएको र ६५ प्रतिशत परिवार यही पेशामा आबद्ध रहेको तथ्याङ्क प्रस्तुत गर्दै यसको अथाह सम्भावनालाई अझै उपयोग गर्न नसकिएको बताउनु भयो ।
वैदेशिक रोजगारीमा गएका युवा शक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा उनले जोड दिनु भयो । “हामीले हाम्रा पौरखी हातहरूलाई देश विकासको संवाहकका रूपमा उपयोग गर्न सक्ने प्रचुर सम्भावना कृषिमा छ,“ उँहाले भन्नु भयो।
राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि सरकार र नीति निर्माताले ध्यान दिनुपर्ने बताउनु भयो । उँहाले किसानका उत्पादनको बजारीकरण, समयमै मल–बीउको उपलब्धता, सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था, र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनु भयो ।
हालै प्रकाशित चौथो जीवनस्तर सर्वेक्षण अनुसार नेपालमा ५९ लाख जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले ती जनसमुदायलाई गरिबीबाट बाहिर निकाल्ने सबैभन्दा शक्तिशाली माध्यम कृषि नै भएको बताउनु भयो ।
भुइँ मान्छेलाई न्याय र विपन्नलाई आयको व्यवस्था गर्न कृषि, पर्यटन र जलस्रोतको विकास अपरिहार्य रहेको राष्ट्रपति पौडेलले बताउनु भयो ।
तपाईको बिचार