काठमाडौँ । पछिल्लो समय विभिन्न समूह बनाएर व्यापारी तथा ठेकेदारबाट असुली धन्दा चलाउने ‘गुण्डा नाइके’ का रूपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई नेपाल प्रहरीले गएराति काठमाडौँको महाराजगंजस्थित होटल साम्बालाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले आपराधिक गतिविधिमा संलग्न आरोपमा उनलाई उनकै जन्मदिनको पार्टीमा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार चक्रे मिलनसहित ४७ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार जन्मदिन मनाउने भन्दै दुई दिनदेखि विभिन्न स्थानमा उनका समर्थकहरूको गतिविधि तीव्र थियो। बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा सहयोग माग्दै बसेकाहरूलाई पैसा बाँड्दै हिँडेका थिए। त्यसपछि ठमेलमा चर्चित र्यापरहरूसँग देखिएका थिए।
केही दिनयता सामाजिक सञ्जाल फेसबुक र टिकटकमा चक्रे मिलन भनिने मिलन गुरूङ देखिएका भिडिओ भाइरल भैरहेका थिए । महाराजगन्ज आसपासकै सडक छेउमा भिड जम्मा गरेर चक्रेले केक काट्दै गरेका भिडिओ पनि ‘भाइरल’ छ। सामाजिक सञ्जालमा त्यस्ता भिडिओहरू धेरै आउन थालेपछि प्रहरी निगरानी थालेको थियो।
जन्मदिन मनाउन चक्रेलाई उनका समूहका सदस्यहरूले ‘स्कर्टिङ’ गरेको भिडिओ पनि आएको थियो। त्यो भिडिओमा भक्तपुरको सडकमा तीन वटा गाडी लस्करै पुरै सडक ढाकेर गाडि चलाउँदा अरु गाडीलाई अगाडि जान दिइएको थिएन । त्यस्ता भिडिओहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरूले हेरेका थिए ।
गए राति उनी होटल साम्बालामा आयोजित पार्टीमा सहभागी थिए जहाँ २० वटासम्म केक काटिएको बताइएको छ। ठूलो तडक-भडक सहित गाडीहरूको लावालस्करमा स्कर्टिङ गर्दै महाराजगञ्जसम्म पुगेको उनको समूहको गतिविधिले प्रहरीको ध्यान तानेको थियो।
सार्वजनिक स्थानमा होहल्ला मच्चाएको सूचना पाएपछि काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको निर्देशनमा अपरेशन चलाइएको थियो। प्रहरीले अपराधिक पृष्ठभूमि भएका ४७ जनालाई नियन्त्रणमा लिएको पुष्टि भएको छ।
केहि वर्ष सुस्ताएको गुण्डा नाइके समूहहरु फेरी जुरमराएको देखिन्छ।
तपाईको बिचार