काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता विपरीत मत सर्वेक्षण गरेको र सर्वेक्षणको परिणाम सार्वजनिक गरेको भन्दै सेतोपाटी डटकमलाई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
सेतोपाटीले मत सर्वेक्षण गरेको दाबी गर्दै फागुन ३ गते ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेणु दाहाल दोस्रो’ र फागुन ४ गते ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा समाचार प्रकाशित गरेको भन्दै आयोगले आवश्यक कारबाही गर्न काउन्सिललाई सोमबार (फागुन ४) पत्राचार गरेको हो ।
२०८२ फागुन ४ गते सेतोपाटीलाई कारबाहीका लागि काउन्सिललाई पठाएको आयोगका कानुन अधिकृत मोहनराज जोशीको हस्ताक्षर रहेको २०८२/०८३/५०५ चलानी नम्बरको पत्रमा उल्लेख छ, ‘सेतोपाटी अनलाइनले मिति २०८२/११/०३ मा चितवन–३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो’ र मिति २०८२/११/०४ मा ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ। उल्लिखित सन्दर्भमा ऐ. अनलाईनवाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको ’कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिंदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ।’

तपाईको बिचार