इजरायली प्रधानमन्त्री नेतन्याहू जिउँदो भए मार्ने धम्की - MirrorNepal.com

इजरायली प्रधानमन्त्री नेतन्याहू जिउँदो भए मार्ने धम्की


  • Mirror Nepal १ चैत २०८२, सोमबार ००:०५:१६

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मृत्यु भएको भन्ने अफवाह सामाजिक सञ्जालमा फैलिरहेका बेला इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले कडा चेतावनी दिएको छ। आइतबार जारी गरिएको वक्तव्यमा कोर्प्सले नेतन्याहूलाई ‘बालबालिकाको हत्यारा’ भन्दै उनी जिउँदै भए जहाँ भए पनि खोजेर मार्ने धम्की दिएको हो।

“यदि अपराधी प्रधानमन्त्री अझै जिउँदो छन् भने हामी सम्पूर्ण शक्तिका साथ उनको पछ्याउनेछौं र अन्ततः मार गिराउनेछौं,” वक्तव्यमा भनिएको छ। कोर्प्सका अनुसार नेतन्याहू मारिए वा परिवारसहित भागे भन्नेबारेको अनिश्चितताले इजरायली समाजमा ठूलो बेचैनी पैदा गरिरहेको दाबी गरिएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले इरानी आक्रमणमा नेतन्याहू मारिएको दाबी गरेका छन्। केहीले भने उनी धेरै दिनदेखि सार्वजनिक रूपमा नदेखिएको र महत्वपूर्ण सुरक्षा बैठकहरूमा पनि सहभागी नभएको भन्दै आशंका व्यक्त गरेका छन्।

शुक्रबार नेतन्याहूले आफ्नो ‘एक्स’ खातामा अमेरिका–इजरायल–इरानबीचको युद्धबारे पत्रकार सम्मेलनको भिडियो सार्वजनिक गरेका थिए। सो भिडियोमा केही प्रयोगकर्ताले नेतन्याहूको दायाँ हातमा छ वटा औँला देखिएको दाबी गर्दै यसलाई ‘एआई फिङ्गर ग्लिच’ भनेका थिए।

भिडियोको करिब ०:३५ सेकेन्डमा उनले हात उठाउँदा सानो औँलानजिक अतिरिक्त मासुको भाग देखिएको भन्दै कतिपयले त्यसलाई छैटौँ औँला भएको दाबी गरेका थिए। त्यसपछि उक्त भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुन सक्ने र वास्तविक नेतन्याहू जीवित नरहेको भन्ने अफवाह फैलिएको थियो।

यी सबै दाबीमाथि नेतन्याहूको कार्यालयले भने स्पष्ट प्रतिक्रिया दिएको छ। अनादोलु समाचार एजेन्सीका एक संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्यालयले मृत्युबारेका सबै अफवाहलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको हो।

कार्यालयका अनुसार नेतन्याहू पूर्ण रूपमा सुरक्षित र स्वस्थ छन्। विश्वसनीय स्रोत तथा तथ्य–जाँचकर्ताहरूले पनि उनको मृत्युबारे फैलिएका खबर पूर्णतः गलत रहेको पुष्टि गरेका छन्।

छ वटा औँला देखिएको भनिएको विवाद भने क्यामेराको कोण र ‘अप्टिकल इलुजन’ का कारण देखिएको हुन सक्ने बताइएको छ, न कि एआईको त्रुटि। एजेन्सी

तपाईको बिचार