मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने अधिकृत पक्राउ - MirrorNepal.com

मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने अधिकृत पक्राउ


  • Mirror Nepal १ चैत २०८२, सोमबार १५:५७:३९

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पत्रका आधारमा भट्टलाई पक्राउ गरिएको हो । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएपछि सोही आधारमा उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जनाएको छ। केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।

अन्तर्वार्तापछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए।

उक्त अभिव्यक्ति निराधार, कपोलकल्पित र चरित्रहत्या गर्ने मनसायले दिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको थियो। यसअघि पनि भट्टले विवादास्पद अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिमाथि आरोप लगाएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको थियो। चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अघि बढाइने पनि मन्त्रालयले जनाएको थियो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताएका थिए। साथै उनले भट्टमाथि कानुनी कारबाही गर्न माग गरेका थिए।

तपाईको बिचार