इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु - MirrorNepal.com

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु


काठमाडौं । इरानले गरेको हमलामा परी युएईमा एक नेपाली नागरिकको निधन भएको छ। इरानले गरेको मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएकोमा एक जना नेपाली नागरिक रहेको युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।

अन्य ज्यान गुमाउनेमा बंगलादेशी र अर्का पाकिस्तानी नागरिक रहेका छन्। तर, तीनै जना मृतकको पहिचान भने खुल्न सकेको छैन।

अन्य ५८ जना सामान्य घाइते रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। घाइते हुनेहरूमा भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगाण्डा, इमिरात, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, लेबनान, अफगानिस्तानलगायतका नागरिकहरू छन्।

युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरूले पनि संचारमाध्यमबाट जानकारी थाहा पाएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यहाँको रक्षा मन्त्रालयका अनुसार हालसम्म इरानले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ ड्रोन प्रहार गरेको छ। ती मध्ये १५२ ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको,  १३ वटा समुद्रमा खसेको र  दुई क्रुज क्षेप्यास्त्र पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ।

साथै  इरानी ड्रोनहरूमध्ये ५०६ वटा खसालेको र ३५ वटा भने देशमा विभिन्न ठाउँमा खसेर क्षति भएको जनाइएको छ।

तपाईको बिचार