हावाहुरीले धनकुटामा ३६ घण्टादेखि बिजुली अवरुद्ध - MirrorNepal.com

हावाहुरीले धनकुटामा ३६ घण्टादेखि बिजुली अवरुद्ध


  • Mirror Nepal ३ चैत २०८२, बुधबार १३:३३:४२

काठमाडौँ। सोमबार राति आएको शक्तिशाली हावाहुरीका कारण अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। केही क्षेत्रमा लाइन जोडिए पनि सदरमुकाम क्षेत्र भने अझै विद्युतविहीन अवस्थामा रहेको छ।

नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास, मूलघाटलगायतका स्थानमा विद्युत सेवा सुचारु भइसकेको छ। महालक्ष्मी नगरपालिकाको तल्लो भेगमा पनि आपूर्ति पुनः सुरु गरिएको जनाइएको छ।

हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजार क्षेत्रमा विद्युत अवरुद्ध भएको हो। धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा सात वटा पोल भाँचिएका छन् भने ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।

क्षतिग्रस्त संरचना मर्मतको काम जारी रहेको र सदरमुकाममा विद्युत सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको वितरण केन्द्र प्रमुख विजलीप्रसाद यादवले बताएका छन्।

तपाईको बिचार