‘हामी कानून बनाउन आएका हौँ, मन्त्री बन्न होइन’ : सभापति लामिछाने - MirrorNepal.com

‘हामी कानून बनाउन आएका हौँ, मन्त्री बन्न होइन’ : सभापति लामिछाने


  • Mirror Nepal ३ चैत २०८२, बुधबार १६:१२:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा आज दोश्रो दिन पनि जारी छ । ग्वार्कोस्थित रोयल टुलिप होटलमा दुई दिनसम्म सञ्चालन भैरहेको कार्यशालामा पार्टीका सभापति रवि लामिछानेले जनताले सुम्पिएको जिम्मेवारीलाई हल्का रूपमा नलिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

सभापति लामिछानेले सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न पनि निर्देशन दिएका छन् । सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण हुनु पर्ने भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराएका छन् । उनले भने, ‘हामी कानून बनाउन आएका हौँ । कानून बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका हुन् ।’

लामिछानेले पुराना राजनीतिक दलहरूले आफूलाई केन्द्रमा राखेर राजनीति गरे जस्तो गरे रास्वपाको भविष्यमाथि नराम्रो असर पर्ने चेतावनी दिएका छन् । उनले व्यक्तिगत सत्ता र मन्त्री–प्रधानमन्त्री बन्ने सपना त्यागेर देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समय आएको बताए । सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

जनताले अब कसैलाई नकुर्ने उनको भनाइ थियो । उनले भने, ‘जनताले पुराना दललाई ३६ वर्ष कुरे । हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्ने वाला छैनन् । यदि हामीले नतिजा दिन सकेनौं भने जनताले तुरुन्तै हिसाब खोज्नेछन् । यो कुरा ध्यान दिनुहोला । ’

उनले सांसदहरूलाई देशमा बिचौलियाको बिगबिगीको खतराप्रति सचेत गराउँदै, कुनै बिचौलियासँग साँठगाँठ नगर्न र संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन आग्रह गरे ।

उनले थपे, ‘घण्टीका मुनि सबै अटाउन सक्छौँ। आफ्नो पोजिसन र पार्टी हैसियतमा केन्द्रित राजनीति बाहिर उठ्न नसके हाम्रो भविष्यमा पुराना दलका नेताभन्दा खराब हुन्छ ।’

रास्वपाका सांसदहरूले जनताको सेवा र कानुन निर्माणमा केन्द्रित भएर काम गर्नुपर्ने र शक्ति प्राप्त भएपछि पार्टीभित्रको एकता बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

वरिष्ट नेता बाल्नेद्र शाह बालेन भने आज पनि कार्यक्रममा अनुपस्थित भएका छन् । कार्यक्रम आज समापन हुँदैछ ।

तपाईको बिचार