काठमाडौं । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत रुपमा चयन गर्ने भएको छ । रास्वपाका शीर्ष नेताहरुबीच छलफल भएपछि नवनिर्वाचित सांसदहरुको बैठकले संसदीय दलको नेतामा बालेनलाई सर्वसम्मत रुपमा चयन गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन यसअघि नै सहमति भएको थियो । सोही सहमतिअनुसार रास्वपाले सर्वसम्मत रुपमा बालेनलाई संसदीय दलको नेता चयन गर्न लागेको हो । बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने सहमति अनुमोदनका लागि यही चैत १२ गते केन्द्रीय समितिको बैठक बस्ने जनाइएको छ ।
बिहीबार (चैत ५) निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसदहरुलाई प्रमाणपत्र दिएको थियो । नवनिर्वाचित सांसदहरुले प्रमाणपत्र पाइसकेको र आयोगले निर्वाचन परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसकेको छ । जसकारण संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुको यही चैत १२ गते पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखेको शुक्रबार (चैत ६) सार्वजनिक सूचना जारी गरेको छ ।
रास्वपाले पार्टीको संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएपछि अब वरिष्ट नेता शाह सबै निर्वाचित सांसदहरूको सहमतिमै संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुने भएका छन् ।
पार्टीका शीर्ष नेताहरूको छलफलमा संसदीय दलको नेता छान्न निर्वाचन नगर्ने र सहमतिमा बनाउने निर्णय गरेको हो । बिहीबार सभापति रवि लामिछाने र शाहसहितका चार नेताबीच भएको छलफलमा सात बुँदे पूर्वसहमति अनुसार बालेनलाई संसदीय दलको नेता बनाउने पुनः सहमति गरेको हो ।
सर्वसम्मत सहमति भइसकेकाले संसदीय दलको नेता बनाउन विधान संशोधन आवश्यक नपर्ने पनि महामन्त्री बुर्लाकोटीले बताए । प्रधानमन्त्रीको शपथ प्रस्ताव चैत १३ गतेका लागि गरिएको छ ।
तपाईको बिचार