काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री बालेन साहलाई तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको भारतस्थित धर्मशालाबाट निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुखले बधाइ दिएका छन् । प्रधानमन्त्री साहलाई निर्वासित ‘तिब्बत सरकार’का प्रधानमन्त्री सिक्योङ पेन्पा छिरिङले बधाई दिएका हुन् ।
यसअघि पनि जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारलाई दलाई लामा र सिक्योङ पेन्पा छिरिङले बधाई दिँदा विवाद उत्पन्न भएको थियो।
‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि निरन्तर गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छ। यो सम्बन्धलाई नेपालमा रहेको तिब्बती समुदायले अझ बलियो बनाएको छ, जसले तिब्बत कब्जापछि नेपालमा शरण पाएका थिए। तिब्बती पहिचान जोगाउँदै उनीहरूले नेपालको सामाजिक र आर्थिक संरचनामा योगदान पुर्याएका छन्। यो नेपाल सरकार र जनताको उदारताले सम्भव भएको हो, त्यसका लागि हामी निकै आभारी छौँ,’ सिक्योङले लेखेका छन्,
‘केन्द्रीय तिब्बती प्रशासन’ भनिने सो सरकारका प्रमुख सिक्योङले बालेनको नेतृत्वमा दुई जनताबीचको मित्रता निरन्तर सुदृढ गर्न इच्छुक रहेको पनि उल्लेख गरेका छन्।
सिक्योंगले प्रधानमन्त्री बालेनलाई आफ्नो हार्दिक बधाई स्वीकार्न आग्रह गर्दै सफल नेतृत्वका लागि शुभकामना दिएका छन् । लेखेका छन्, ‘तपाईंको सक्षम नेतृत्वमा हाम्रा जनताबीचको मित्रता अझ सुदृढ हुने आशा छ।’ भारतमा निर्वासित तिब्बती धार्मिक समूहले नेपालका प्रधानमन्त्रीलाई दिएको शुभकामनामा ‘हाम्रा जनताबीचको मित्रता’ भन्नुले गम्भीर आशंका समेत पैदा गरेको छ ।
अहिले शुभकामनासँगै असल छिमेकीसँग कायम रहेको नेपालको सम्बन्धमा खलल पुर्याउने उद्देश्यले तिब्बती भूमि कब्जा गरिएको, तिब्बती शरणार्थीलाई तिब्बती समुदाय भनिएको र निर्वासित समूहका मानिस र नेपाली जनताबीच जनस्तरको सम्बन्ध र मित्रताको कुरो उल्लेख गर्नुले पनि गम्भीर शंका उत्पन्न गराएको हो ।
तपाईको बिचार