नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ - MirrorNepal.com

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको मन्त्रिमण्डलका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १४ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

समारोहको सुरुवातमा बटुकहरूले स्वस्तिवाचन तथा लामाहरूले मंगलवाचन गरेका थिए, जसले कार्यक्रमलाई धार्मिक र सांस्कृतिक गरिमा दिएको थियो। संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा नियुक्त भएका प्रधानमन्त्री बालेनले मन्त्रिमण्डलमा युवा तथा विज्ञहरूको उल्लेख्य सहभागिता गराएका छन्।

मन्त्रीहरुको सुचिमा परेपनि सर्लाही – ४ बाट निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि आफूलाई अपेक्षाअनुसारको मन्त्रालय नपरेपछि उनले प्रस्ताव अस्वीकार गरेको बुझिएको छ।

सिंहका स्वकीय सचिव रञ्जित झाले सञ्चारमाध्यमलाई जानकारी दिँदै सांसदकै हैसियतमा देशको सेवा गर्ने निर्णय लिइएको बताए। “उहाँले मन्त्री पद अस्वीकार गर्नुभएको हो, अब सांसद भएरै काम गर्नुहुन्छ,” उनले भने।

राजनीतिक वृत्तमा भने सिंहले ‘राम्रो’ वा प्रभावकारी मन्त्रालय नपाएको असन्तुष्टिका कारण मन्त्री पद अस्वीकार गरेको चर्चा छ। स्रोतका अनुसार उनले आफ्नो राजनीतिक प्रभाव र कार्यक्षेत्रअनुसारको मन्त्रालय अपेक्षा गरेका थिए।

अमरेशकुमार सिंहले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै राष्ट्रिय राजनीतिमा चर्चा बटुलेका थिए।

प्रधानमन्त्री बालेन शाहको १५ सदस्यीय मन्त्रिपरिषद:

प्रधानमन्त्री बालेन्द्र शाह: रक्षा र उद्योग मन्त्रालय

स्वर्णिम वाग्ले: अर्थ मन्त्रालय

सुधन गुरुङ: गृह मन्त्रालय

शिशिर खनाल: परराष्ट्र मन्त्रालय

सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय

विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

खड्कराज पौडेल (गनेश): पर्यटन मन्त्रालय

सस्मित पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय

निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विक्रम तिमिल्सिना: सञ्चार मन्त्रालय

प्रतिभा रावल: सामान्य प्रशासन मन्त्रालय

दीपक साह : श्रम मन्त्रालय

सोविता गौतम: कानुन मन्त्रालय

सीता बादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

तपाईको बिचार