उपत्यकाका यातायात कार्यालयबाट २२ बिचौलिया पक्राउ - MirrorNepal.com

उपत्यकाका यातायात कार्यालयबाट २२ बिचौलिया पक्राउ


  • Mirror Nepal १६ चैत २०८२, मङ्गलबार २१:०८:१६

काठमाडौं । उपत्यकाका विभिन्न यातायात कार्यालयमा सञ्चालन गरिएको ‘स्विप अपरेसन’ अन्तर्गत दुई दिनमा प्रहरीले २२ जना बिचौलियालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङ नीलकण्ठ नगरपालिका–५ की ३६ वर्षीया कल्पना लम्साल र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन्।

उनीहरूबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। सेवाग्राहीलाई दुःख हैरानी दिने तथा बिलबुक नवीकरण गरिदिने बहानामा सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

यसअघि सोमबार ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक सास्ती दिने तथा सेवा प्रवाहमा बाधा पुर्‍याउने गतिविधि देखिएपछि अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार