बागमती प्रदेशमा ७ वटा मन्त्रालय बनाउने कांग्रेसको निर्णय - MirrorNepal.com

बागमती प्रदेशमा ७ वटा मन्त्रालय बनाउने कांग्रेसको निर्णय


  • Mirror Nepal १६ चैत २०८२, मङ्गलबार २१:४१:५९

काठमाडौं। बागमती प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सत्तारुढ दल नेपाली कांग्रेसले निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौँमा बसेको संसदीय दलको बैठकले प्रदेशमा कायम रहेको १३ मन्त्रालयलाई घटाएर ७ वटा कायम गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको मस्यौदामा हाल रहेको १३ वटा मन्त्रालयलाई ७ मन्त्रालयमा सीमित राख्न सिफारिस गरेअनुसार कार्यान्वयनमा जाने निर्णय भएको संसदीय दलका सचिव मिनकृष्ण महर्जनले जानकारी दिए ।

उनका अनुसार समितिको सिफारिसबमोजिम प्रदेशमा रहेको ७ वटा निर्देशनालयलाई २ वटामा सीमित राख्ने र ५ वटा खारेज गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्ने सिफारिसलाई सरकारमा सहभागी २ दलको आपसी छलफल गरी पारित गर्नतर्फ आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले आगामी एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ भने बागमती प्रदेश सभा सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय गरेको छ ।

साथै बैठकले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गर्ने, कांग्रेसभित्रको आन्तरिक समस्यालाई आपसी सहमति र संवादमार्फत छिट्टै समाधानतर्फ अगाडि बढी पार्टीलाई १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनको सन्देश दिनलाई दुवै पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ ।

तपाईको बिचार