प्रहरी हिरासतमा दलित युवाको मृत्युपछि सांसदहरू धर्नामा - MirrorNepal.com

प्रहरी हिरासतमा दलित युवाको मृत्युपछि सांसदहरू धर्नामा


  • MNN १० बैशाख २०८३, शुक्रवार १५:४९:३२

काठमाडौँ । सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनामा संसदीय छानबिनको माग गर्दै रास्वपा सांसद खगेन्द्र सुनारसहितले बिहीबारबाट सिन्धुली प्रशासनमा अनिश्चिकालिन धर्ना थालेका छन् ।

खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेका उनलाई बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो। काठमाडौँमा पक्रेर सिन्धुली पठाइएका विक यही वैशाख ७ गते साँझ हिरासतकै भेन्टिलेटरमा सर्टको पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै प्रहरीले तत्कालै अस्पताल पुर्‍याएको थियो। तर त्यही साँझ उनको मृत्यु भयो।

१६ वर्षीया किशोरीसँग प्रेमविवाह गरेपछि श्रीकृष्णलाई बलात्कार मुद्दा लगाएर फसाइएको र प्रहरी हिरासतभित्र भएको घटना आत्महत्या मान्न नसकिने भन्दै पीडित परिवार र अधिकारकर्मी आन्दोलनमा छन् । सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेललेले सिन्धुली प्रशासनको गेटमा धर्ना सुरु गरेका हुन् ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक र ड्युटीमा खटिएका कमाण्डरलाई निलम्बन गर्नुपर्ने माग रहेको सुनारले बताए । उनका अनुसार प्रहरीको आन्तरिक उच्चस्तरीय, विज्ञ छानबिन, संसदीय छानबिन हुनुपर्ने माग छ भने बलात्कार मुद्दा भनेर जोहरी दिनेलाई जातीय हिंसामा कारबाही माग गरिएको छ ।

१६ वर्षीया किशोरीसँग प्रेमविवाह गरेपछि श्रीकृष्णलाई बलात्कार मुद्दा लगाएर फसाइएको परिवारको आरोप छ । सो विवाह सम्बन्ध छुटाउन बालिका पक्षले ललितपुरको सातदोबाटो प्रहरीमा बलात्कारको उजुरी दिएपछि विकलाई ३ वैशाखमा पक्राउ गरिएको थियो । ललितपुरबाट पक्राउ गरी खुर्कोट ल्याइएका विकलाई प्रहरीले ‘आरोप स्वीकार गर्न दबाब दिँदै आएको’ परिवारको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेर बिहीबारबाट छानबिन थालिसकिएको छ । घटनाको सत्यतथ्य बुझ्न राष्ट्रिय दलित आयोगको केन्द्रीय टोली काठमाडौंबाट सिन्धुलीतर्फ प्रस्थान गरेको छ । टोलीले सरोकारवालासँग छलफल गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने दलित अधिकारकर्मी निर्मल रम्तेलले बताएका छन् ।

तपाईको बिचार