काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ । मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिइने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको हो ।
यसअघि साउन २७ गते थपलियाविरुद्ध एमालेका १६ जना प्रदेश सभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए । तर, पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति जुटाइएको हो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिसकेका छन् ।
बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्ने समय तोकिएको छ । एमाले–नेकपा गठबन्धनसँग ५१ सांसद रहेकाले थापालाई मुख्यमन्त्री बनाउन थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ ।
मुख्यमन्त्रीको दाबेदारीमा थपलिया र थापाबीच प्रतिस्पर्धा भएपछि पार्टी नेतृत्वले समेत आन्तरिक छलफललाई तीव्रता दिएको थियो। अन्ततः भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय भएको हो।मुख्यमन्त्रीमा अघि सारिएसँगै थापालाई अन्य दलसँग सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन वार्ता गर्ने जिम्मेवारीसमेत दिइएको छ। थापाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ। समितिमा थापासहित भरतबहादुर केसी, केशव पोखरेल, भारती पाठक र डा. दिनेशचन्द्र देवकोटा सदस्य रहेका छन्।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
एमाले र नेकपाका सांसद जोड्दा ५१ जना पुग्छन्। बहुमतका लागि आवश्यक ५३ सांसदभन्दा दुई जना कम भएकाले एमाले–नेकपा गठबन्धनलाई सरकार गठन गर्न साना दलको समर्थन आवश्यक पर्ने देखिएको छ।
तपाईको बिचार