कम्बोडियामा आपराधिक क्रियाकलापमा संलग्न ९ नेपाली पक्राऊ - MirrorNepal.com

कम्बोडियामा आपराधिक क्रियाकलापमा संलग्न ९ नेपाली पक्राऊ


काठमाडौं । कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा नौ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ मा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले यसबारे जानकारी गराएको हो ।

“कम्बोडिया सरकारले नौजना नेपालीलाई विभिन्न अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ, जसमध्ये पाँचजनालाई संगठित ठगी कसुरमा पक्राउ गरी कानुनी कारबाहीको लागि अदालतमा पेस गर्ने क्रममा रहेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

बाँकी चारजनालाई शरीर बन्धक तथा हिंसात्मक गतिविधि गरेको आरोपमा अनुसन्धानका निम्ति थुनामा राखी अदालतमा पेस गर्ने कार्य भइरहेको उनले बताए । प्रवक्ता क्षेत्रीले यसअघि पाँच नेपाली कम्बोडियामा पक्राउ परेका जानकारी दिए । योसँगै कम्बोडियामा कुल पक्राउ परेका नेपालीको संख्या १४ पुगेको छ ।

विभिन्न एजेन्टको प्रलोभनमा परी ठूलो संख्यामा नेपाली कम्बोडिया, म्यानबार, थाइल्यान्ड, लाओसलगायत दक्षिणपूर्वी एसियाली राष्ट्र पुग्ने गरेका छन् । एजेन्टले नेपालीलाई ती राष्ट्र पुर्‍याएपछि अनलाइन स्क्यामिङ सेन्टरमा काम लगाउने गरेको पाइएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार, सन् २०२१ यता मात्र २१ हजार नेपाली कम्बोडिया पुगेका छन् । उनीहरूमध्ये धेरैलाई यस्तै स्क्यामिङ सेन्टरमा काममा लगाइएको हुन सक्ने उनले बताए ।

थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासले चालु आर्थिक वर्षमा हालसम्म दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६१२ नेपालीलाई उद्धार गरी नेपाल फर्काएको उनले जानकारी दिए ।

यो अवधिमा कम्बोडियाबाट ४८७, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट ६ नेपालीको उद्धार गरिएको छ । थप ५३ जनालाई उद्धार गरी नेपाल फर्काउने तयारी भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

तपाईको बिचार