रोमानियामा रेलको ठक्करबाट २ नेपालीको निधन - MirrorNepal.com

रोमानियामा रेलको ठक्करबाट २ नेपालीको निधन


काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ । आइतबार बिहान रोमानियाको पूर्वी सहर बकाउमा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ । उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन ।

मृतकहरू २५ र ३६ वर्षका बताइए पनि उनीहरू परिचय सार्वजनिक गरिएको छैन । आइतबार बिहान ३ः२१ बजे चिमिएई सडक क्षेत्रस्थित रेलमार्गमा हिँडिरहेका दुई जनालाई रेलले ठक्कर दिएको बकाउस्थित आपतकालीन अवस्था निरीक्षणालय (आईएसयू)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले दुई जनालाई मृत अवस्थामा फेला पारेका हुन् ।

‘उनीहरू कसरी रेलमार्गमा पुगेका थिए । दुर्घटना कुन परिस्थितिमा भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय नेपालीको वैदेशिक रोजगारीको गन्तव्य मुलुक बनिरहेको रोमानियामा नेपाली दूतावास छैन ।

जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले रोमानिया हेर्दै आएको छ । रोमानियामा करिब ५० हजार नेपाली श्रमिक रहेका अनुमान गरिएको छ ।

तपाईको बिचार