प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुखबीच भेटवार्ता - MirrorNepal.com

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुखबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल भ्रमणका लागि आईतवार काठमाडौं आइपुगेका हुन् ।

आफ्नो भ्रमणको दोस्रो दिन सोमवार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता गरेका थिए ।सोही दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । भारतीय सेना प्रमुख सेठ आफ्नो भ्रमण तालिका पूरा गरी आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यस अघि प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्तामा दुवै तर्फका प्रतिनिधिहरू सहभागी थिए। भेटवार्ता ४५ मिनेट चलेको थियो।

सो क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको बताएको छ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको बताइएको छ।

भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए।

तपाईको बिचार