लुटपाटको क्रममा ३२ जनाको मृत्यु : जाँचबुझ आयोग - MirrorNepal.com

लुटपाटको क्रममा ३२ जनाको मृत्यु : जाँचबुझ आयोग


काठमाडौं। जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनामा आपराधिक प्रवृत्तिका व्यक्ति संलग्न रहेको निष्कर्ष निकालेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उक्त विवरण उल्लेख गरिएको हो।

‘२४ गतेको हिंसात्मक क्रियाकलाप जेनजी पुस्ताले नगरेको तर २३ गतेको घटनाको विरोधमा स्वतःस्फूर्त रूपमा युवासँगै अन्य उमेर समूहका व्यक्तिहरू पनि सडकमा निस्किए,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, केही समयपछि आपराधिक प्रवृत्तिका व्यक्तिहरू तथा शान्ति सुरक्षाको कमजोरीको फाइदा उठाउँदै अन्य लुटेरा समूहरू पनि प्रदर्शनकारीहरूसँगै सहयोगी भई लुटपाट, आगजनी, लोडफोड र प्रहरीलाई कुटपिट, हत्याजस्ता कार्यमा संलग्न भई स्थितिलाई अराजक बनाए ।’

उक्त दुई दिनका घटनामा ७६ जनाको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ४२ जनाको मृत्यु सुरक्षाकर्मीको गोली प्रहारबाट भएको किटान गरिएको छ।

प्रदर्शनकारीको आक्रमणबाट तीन प्रहरीको मृत्यु भएको र अन्यको मृत्यु लुटपाटका क्रममा भएको प्रतिवेदनमा जनाइएको छ । कुल ३२ जनाको ज्यान लुटपाटसँग सम्बन्धित घटनामा गएको उल्लेख छ।

‘यी घटनामा दुई हजार ५२२ जना (सुरक्षाकर्मीसहित) घाइते भएका थिए र साथै करिब ८५ अर्ब रुपैयाँबराबरको भौतिक क्षति भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

तपाईको बिचार