आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि - MirrorNepal.com

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि


काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले आइतबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ। त्यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसन (आईओसी)ले जुलाई ३१, २०२६ मा पठाएको नयाँ खरिद मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा लागत बढेर आएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ।

सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तोकिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ थियो। निगमले मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ।

तपाईको बिचार