काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५१ वर्षीय फुलमान तामाङ रहेका छन्।
पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा विदेश पठाइदिने भन्दै रकम लिएर लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाएको र पछि सम्पर्कविहीन भएको आरोपमा उनी पक्राउ परेका हुन्। प्रहरीका अनुसार तामाङलाई भदौ २ गते काठमाडौं महानगरपालिका–६ बाट पक्राउ गरिएको हो।
उनले मौरिससमा रोजगारी लगाइदिने भन्दै पीडितबाट १० लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि लामो समयसम्म पीडितलाई झुक्यानमा राखी विदेश नपठाएको तथा सम्पर्कविहीन भएको जाहेरीमा उल्लेख छ। पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको बिचार