कालोमोसो प्रकरणपछि अदालतमा सुरक्षा व्यवस्था कडा - MirrorNepal.com

कालोमोसो प्रकरणपछि अदालतमा सुरक्षा व्यवस्था कडा


  • Mirror Team ३० जेठ २०८२, शुक्रवार १४:३७:५९

काठमाडौं । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा निगरानी बढाइएको छ । विहीबार दिउँसो न्यायाधीश खुशीराम थारुमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै मोसो छ्यापेपछि उत्पन्न सुरक्षाको असहज परिस्थिति कारण देखाउँदै अदालत प्रवेशमा समेत कडाइ गरिएको छ ।

पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार घटनापश्चात् अदालतमा कार्यरत १३ जना न्यायाधीशका प्रमुख सुरक्षा अधिकृत (पीएसओ) हरू परिवर्तन गरिएका छन् ।

त्यस्तै अदालतको समग्र सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोलीलाई फिर्ता बोलाइएको छ ।

उपरीक्षक लम्सालले फिर्ता बोलाइएका पीएसओको सट्टा नयाँ पीएसओ पठाइएको जानकारी दिँदै अदालतको सुरक्षाका लागि पहिले १० जना प्रहरी खटिएकामा अब १५ जना पठाइएको बताए ।

यो सुरक्षा फेरबदलसँगै अदालत प्रवेशमा विशेष निगरानी बढाइएको छ । अब अदालत पुग्ने सेवाग्राही, सर्वसाधारण र कानून व्यवसायीहरूलाई समेत अदालतको मूल गेटमै राम्रोसँग चेकजाँच गरेर मात्र भित्र प्रवेश दिइएको छ।

तपाईको बिचार