भारतको रुद्रप्रयाग-गौरीकुण्ड नजिकै हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु - MirrorNepal.com

भारतको रुद्रप्रयाग-गौरीकुण्ड नजिकै हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु


  • Mirror Team १ असार २०८२, आइतबार १६:३९:३४

काठमाडौं । भारतको केदारनाथबाट गुप्तकाशी जाँदै गरेको एक निजी हेलिकोप्टर आइतबार बिहान भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड नजिकै दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।​

आर्यन एभिएसनको स्वामित्वमा रहेको उक्त हेलिकोप्टर केदारनाथको हेलिप्याडबाट बिहान करिब ५:२० बजे उडेको थियो। उडानपछि केहीबेरमै सम्पर्कविहीन भएपछि हेलिकोप्टर ‘हराएको’ घोषणा गरिएको थियो।

उत्तराखण्ड राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)का निरीक्षक अनिरुद्ध भण्डारीले हेलिकोप्टरमा सवार सातै जनाको ज्यान गएको पुष्टि गरेका छन्।

मृतकहरूमा पाइलट क्याप्टेन राजवीर सिंह चौहान, महाराष्ट्रका ४१ वर्षीय राजकुमार सुरेश जैसवाल, ३५ वर्षीया श्रद्धा राजकुमार जैसवाल, २३ महिनाका काशी, रुद्रप्रयागका ४६ वर्षीय विक्रम, उत्तर प्रदेशको बिजनौर निवासी ६६ वर्षीय विनोद देव र २९ वर्षीया तुष्टि सिंह रहेका छन्।

रुद्रप्रयागका चोप्पर सेवाका नोडल अफिसर तथा जिल्ला पर्यटन अधिकृत राहुल चौबेले दुर्घटनाबारे जानकारी दिँदै भनेका छन्, ‘हामीले बिहानै हेलिकोप्टर सम्पर्कविहीन भएको खबर पाएका थियौं। त्यसपछि खोजी अभियान शुरू गरिएको थियो। आर्यन एभिएसनको हेलिकोप्टर केदारनाथबाट गुप्तकाशी फर्किंदै गर्दा खोँच क्षेत्रमा अचानक मौसम प्रतिकूल भएको थियो। पाइलटले हेलिकोप्टरलाई सुरक्षित रूपमा निकाल्न प्रयास गरे पनि त्यस क्रममा दुर्घटना भयो।’

तपाईको बिचार