वाणिज्य बैंकका डेढ दर्जन सीइओसँग अर्थमन्त्रीको छलफल - MirrorNepal.com

वाणिज्य बैंकका डेढ दर्जन सीइओसँग अर्थमन्त्रीको छलफल


काठमाडौं। नियामक नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई बिना १८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सिंहदरबारको सुवर्णहलमा बोलाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र चलायमान हुन नसक्नुको कारण, पैसा फालाफाल भएर पनि ऋण लगानी माग नहुनुको कारण सोधीखोजी गरेका छन्।

देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने बुझिएको छ।

मंगलबार अर्थमन्त्री लगानी विस्तारमा व्यवसायी पछाडि हट्नु चिन्ताको विषय भएको बताएका थिए। सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।

अर्थमन्त्री डा. वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनस्र्थापित गर्न सरकारसँग बैंकिङ क्षेत्रसँग घनिष्ट सम्बन्ध हुनुपर्ने बताएका थिए।

उनले बजेटमार्फत आर्थिक रुपान्तरणको स्पष्ट दिशा तय गरिएको बताउँदै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको बताएका थिए। उनले भने, ‘सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो। आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन्।’

अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महसुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्त्वपूर्ण हुने उनले बताए।

मंगलबारकाे बैठकको अधिकांश समय व्यवसायीमाथि भइरहेको धरपकडकै विषय उठ्याे। बैंकरहरूले भनेका थिए, ‘व्यवसायीको मनोबल यसै पनि गिरिरहेको बेला सरकारी तवरबाट भइरहेको धरपकडले अवस्थालाई झनै बिगारिरहेको छ।’

यो कुरा उनीहरूले जोडतोडका साथ अर्थमन्त्रीसामु राखे। कुरा यत्तिमै सीमित रहेन- बैंकका प्रमुख कार्यकारी अधिकृतहरू आफैँ पनि धरपकडको जोखिमबाट अछुतो नरहेको गुनासो बैठक उठ्याे। सबै सञ्चालक (डाइरेक्टर)समेत पक्राउको दायरामा तानिने गरेको विषयलाई उनीहरूले गम्भीर चिन्ताका साथ उठाए।

यसको जवाफमा अर्थमन्त्री वाग्लेले सरकारको कुन निकायले कहिले धरपकड गर्छ भन्नेबारे आफू पनि पूर्ण जानकार नरहेको स्वीकारेका थिए। बैठक कक्षबाट बाहिँदा बैंकरहरूलाई एउटै निष्कर्षमा पुगेका थिए- व्यवसायीमाथिको धरपकडबारे अर्थमन्त्री स्वयं पूर्णतः बेखबर हुँदा रहेछन्। बरु उनले सबै धरपकड प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयबाट भइरहेको कुरा घुमाउरो पाराले बैंकरसामु राखेको जनाइएको छ।

सरकारले अर्थतन्त्रलाई पुनः गतिशील बनाउने अभियानको अर्को चरणका रूपमा वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतसहितका वित्तीय क्षेत्रका नेतृत्वकर्तासँग छलफल गरेको भनिएकाे छ। निजी उद्योगी–व्यवसायीसँगको संवादपछि सरकारले वित्तीय प्रणालीको नेतृत्व गरिरहेकासँग छलफल थालेको हो।

मंगलबार सीइओसँग भएकाे छलफल र उनीहरूले बैंकिङ क्षेत्रका हाल देखिएकाे चुनाैती समाधानका लागि दिएका सुझाव सम्भवतः अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग सेयर गर्ने बुझिएकाे छ।

तपाईको बिचार