धरानमा मेयर हर्क र उपमेयर बेघाका समर्थकबीच झडप - MirrorNepal.com

धरानमा मेयर हर्क र उपमेयर बेघाका समर्थकबीच झडप


  • Mirror Team २ असार २०८२, मङ्गलबार १९:५५:२९

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ ।

उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडपमा उत्रिएका हुन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ । दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको जनाइएको छ ।

श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेशेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले हार्दिक श्रद्धाञ्जली लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भएका छन् । मंगलबार दुवै पक्ष आमनेसामने भएपछि एपीएफ, नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।

दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षा दुईजनाबीच विवाद भएको र त्यसको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका हर्कका समर्थक उपमहानगर आएको बताइएको छ ।

हर्कका समर्थकले ‘विकासविरोधी उपमेयर चाहिँदैन । राजनीतिक दलहरू चाहिँदैन’ भन्दै नाराबाजी गरेका छन् ।

माओवादी कार्यकर्ताले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन भन्दै’ नारा लगाएका छन् ।

साम्पाङका समर्थक र उपमेयर बेघासम्वद्ध माओवादीका कार्यकर्ता आमनेसामने भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

तपाईको बिचार