काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाका चिनियाँ आरोहीहरूले हिमालमा बढ्दो प्रदूषण तथा अनियन्त्रित भीडभाडप्रति चिन्ता प्रकट गरेका छन् । बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको चीन-नेपाल सगरमाथा साहसिक पर्यटन तथा संस्कृति कार्निभल-२०२५ मा सहभागी पर्वतारोहीहरूले आफ्नो हिमाल आरोहणको अनुभव सुनाउँदै जलवायु परिवर्तनका कारण पग्लँदो हिउँ र बढ्दो प्रदूषणतर्फ नेपाल सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
चीनको शनचन माउन्टेनियरिङ तथा आउटडोर स्पोर्ट्स् एसोसियसन र द पेलिओटसँग मिलेर नेपाली दूतावासले ३ जना नेपाली र ७० भन्दा बढी चिनियाँ पर्वतारोहीहरूलाई आमन्त्रण गरेको थियो । कार्यक्रममा नेपालको परम्परागत संस्कृति झल्किने विशेष प्रस्तुती गराइएको थियो । चीनमा अध्ययनरत विभिन्न विद्यार्थीहरूको समूहले नेपाली मौलिक गीतसंगीतमा परम्परागत नृत्य देखाए । समता बज्राचार्य, अनुश्री कुइँकेल, चेतना तिवारी, यशस्वी बज्राचार्य, श्रेया बेलबासे र आर्जु खड्काले स्वागत नृत्य देखाएपछि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले भिडियो सन्देश पठाए ।
चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र भिडियोमार्फत् नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल-चीन मित्रता र पर्यटकका लागि नेपालको हिमाली पर्यटन तथा हिमाली आकर्षणबारे चर्चा गरे । कार्यक्रममा बान्के फाउन्डेसन तथा डीप-रक् ग्रुपका मानार्थ अध्यक्ष एवं संस्थापक वाङ् श्ले सम्बोधन गरे भने राजदूत ओलीले तयार पारेको गीत ‘हिमालय’ प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक अर्चना केसीले प्रस्तुति दिइन् भने ‘नेपाल की छोरी हुँ म’ बोलको सांस्कृतिक नृत्यमा सबिना गोपालीले नेपाली दूतावासदेखि केही मिटरको दूरीमा रहेको फोर सिजन होटलको हल तताइदिइन् ।
कार्यक्रममा चिनियाँ तथा नेपाली पर्वतारोहीहरुले आफ्नो यात्रा अनुभव सुनाउनुका साथै नेपालको पर्वतारोहण पर्यटनका संभाव्यताबारेमा जानकारी दिए । कार्यक्रममा भाग लिनका लागि नेपालबाट चर्चित आरोही पूर्णिमा श्रेष्ठ सहित मिङ्मा शेर्पा र मिङ्मा जी बेइजिङ आएका थिए ।
एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् । कार्यक्रम अवधिमा ३ जना नेपाली पर्वतारोहीका साथै ७० जना चिनियाँ आरोही र पेलिओट अध्यक्ष, शनचन माउन्टेनियरिङ तथा आउटडोर स्पोर्टस् सम्बद्ध पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।
सांस्कृतिक मारुनी नृत्य ‘वारि तुँवालो पारी तुवाँलो’बाट अम्बिका घिमिरेले दर्शकको मन जितेकी थिइन् भने इसिमोड र सगरमाथा प्रदूषण नियन्त्रण समितिले तयार पारेको ‘सेभ द स्नो’ विषयक घोषणा जारी गरियो । साथसाथै इसिमोडका पेमा ग्यात्सो डीजी, एसपीसीसीका छिरिङ शेर्पालगायतले भिडियो सन्देश दिए । पर्वतारोहीका भिडियो वृत्तचित्र पनि सो अवसरमा देखाइएको थियो ।
तपाईको बिचार