काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा र अध्यागमन सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिप्रति आपत्ति जनाएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर रास्वपा सांसद स्वर्णिम वाग्लेले शंकरदाश बैरागी संयोजकत्वको समिति गठनप्रति आफूहरूको सहमति नरहेको बताएका हुन् ।
उनले संसदीय छानबिन समिति या जाँचबुझ आयोग ऐनअनुसार पूर्व या बहालवाला न्यायाधीशको संयोजकत्वमा छानबिन आयोग गठन गर्नुपर्ने बताए ।
वाग्लेले भिजिट भिसाका नाममा भएको बद्मासी गम्भीर कुशासन र अपराध भएकोले बैरागी नेतृत्वको छानबिन समितिले काम गर्न नसक्ने दाबी गरे । राप्रपाका ज्ञानेन्द्र शाहीले पनि समितिले काम गर्न नसक्ने बताए ।
सोमवार मन्त्रिपरिषद् बैठकले बैरागीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिको कार्यादेशबारे गृहमन्त्री रमेश लेखकले सदनमा जानकारी गराउँदै समितिले दिने सुझाव सरकारले अक्षरांश कार्यान्वयन गर्ने बताएका थिए ।
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपालगायत विपक्षी दलले जेठ १३ देखि संसदमा विरोध गर्दै आइरहेका छन् ।
तपाईको बिचार