विद्याको इन्ट्रीपछि एमालेमा खैलाबैला, ओली नसुनी हिँडे भण्डारीको घोषणा - MirrorNepal.com

विद्याको इन्ट्रीपछि एमालेमा खैलाबैला, ओली नसुनी हिँडे भण्डारीको घोषणा


काठमाडौं । पूर्व-राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा पुनः जोडिएको घोषणा गरेकी छन् । आज शनिबार स्वर्गीय मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहमा सम्बोधन गर्दै पूर्व-राष्ट्रपति भण्डारीले यस्तो घोषणा गरेकी छन् । उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’

उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताएकी छन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नु हुन्थ्यो–जनता भनेका भगवान हुन् । उहाँले भन्नु भएको थियो–राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’

पूर्व-राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू किन एमालेमा फर्किन लागेको भनेर सुनाउन खोजेकी थिइन् । शनिबार एउटै मञ्च शेयर गरेका ओलीलाई उनले भनेकी थिइन्- मेरा कुरा पनि सुन्नुस् न ! तर, भण्डारीको यस्तो आग्रहकाबीच ओली स्पेन भ्रमणका लागि ५ बजेर १० मिनेटमा एयरपोर्ट पुग्नुपर्ने भन्दै कार्यक्रमस्थल राष्ट्रियसभा गृह प्रदर्शनीमार्गबाट हिँडेका थिए ।

राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताएकी छन् । पूर्व राष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् । उनले भनिन्, ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वास समेत लिएको छु ।

भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुञ्जिएको थियो । भण्डारीभन्दा अघि बोलेका प्रधानमन्त्री ओलीले मिडियाले भण्डारी र आफूबीच बम पड्काइसकेको टिप्पणी गरेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमाले निकट रहेका सङ्गठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम ?’

प्रधानमन्त्री ओली बोले लगत्तै बोलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक कदम अघि बढेर नै भण्डारीको पक्षमा खुलेरै बोले । भण्डारी सक्रिय राजनीतिमा आउने उनैले घोषणा गरिदिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यही अनुसार हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरु मिसन २०८४ को अभियानमा रहेको भन्दै स्वार्थी तत्वहरुले भाँड्न एमालेमा महाधिवेशनको कुरा चलाएको आरोप लगाए । ओली आफैं विधान संशोधन गरेरै भए पनि अब एक कार्यकाल अध्यक्ष बन्ने दाउमा छन् ।

तर ओलीको यो तयारीविरुद्ध  वरिष्ठ उपाध्यक्ष पोखरेल उभिएका छन्  । पछिल्लो समय उनको अभिव्यक्तिबाट त्यो प्रस्टै बुझ्न सकिन्छ । एमालेले आफ्नो विधानमा राखेको २ कार्यकाल अध्यक्ष र ७० वर्षे उमेर हद लहडको विषय नभएको उनको मत छ ।

पछिल्लो समय ओलीसँग पार्टी पंक्ति सन्तुष्ट छैन । त्यसैले मदन भण्डारीको लिगेसी पनि भएकाले भण्डारीलाई आगामी नेतृत्वको दावी गर्न सहज बन्दै गएको छ । त्यसो त भण्डारी लामो गृहकार्य गरेरै राजनीतिमा फर्किएकी छन् । भण्डारीको यो कमब्याकले एमाले वृतमा हलचल ल्याएको छ ।

तपाईको बिचार