कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरू - MirrorNepal.com

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरू


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ । बैठकमा सरकार, पार्टी कामको समीक्षा गर्न र लथालिङ्ग आवस्थामा चलिरहेका भ्रातृ संस्थाहरुको समस्या समाधान गर्ने उद्देश्यका साथ आयोजना गरिएको छ।

सोमबार दिउँसोबाट शुरू भएको केन्द्रीय समिति बैठकमा सरकारको एक वर्षे समीक्षा, क्रियाशील सदस्यता नवीकरणमा भइरहेको ढिलाइ, अलपत्र भ्रातृ संस्थासहितका समसामयिक विषयमा छलफल हुनेछ ।

यस अघि २/२ महिनामा कांग्रेसले केन्द्रीय समिति बस्ने जनाएको थियो । दुई पटक तालिका अनुसार नै बैठक बस्यो । तर अहिले करिब ९ महिनापछि बल्ल कांग्रेसले केन्द्रीय समितिको बैठक राखेको हो ।

लामो समयसम्म बैठक नराख्दा आलोचना बढेको थियो । यसैले कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेर आइतबार एजेन्डा तय गरेको थियो । एजेन्डा तय गरे लगत्तै सोमबार दिउँसोबाट बैठक सुरू भएको हो ।

बैठकमा संस्थापन पक्षले भ्रातृ संस्थालाई महाधिवेशनको लागि अझै केही समय दिनुपर्ने मत अगाडि सार्ने तयारी गरेको छ । तर महामन्त्री गगन थापासहितका नेताले समयमा महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्नुपर्ने मत राखेका छन् ।

असार मसान्तसम्म क्रियाशील सदस्यता नभर्ने जिल्लालाई के गर्ने भन्नेमा समेत कांग्रेसमा समान मत छैन ।

साथै, सरकारमा गएका कांग्रेसका सबै मन्त्रीले प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेसमा आलोचना हुँदै आएको छ । कतिपय नेताहरू प्रतिस्पर्धी पार्टी एमालेसँगको सत्ता सहकार्य पार्टीको हितमा नहुने भन्दै असन्तुष्टि छन् ।

पार्टीबाट मन्त्री बनेकाहरू पार्टी कार्यालय आउने, पार्टीकै पनि गुनासो सुन्ने निर्णय यस अघि भएको थियो । तर मन्त्रीले पार्टीसँग समन्वय नगरेकोमा केन्द्रीय सदस्यहरू असन्तुष्ट छन् । केन्द्रीय समिति बैठक केही दिन चल्नेछ ।

तपाईको बिचार