काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको बताएकी छन् । उनले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएकी हुन् ।
यसअघि एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई अनुशासन आयोगले ३ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको जनाएको थियो । केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब पार्टी सिनो बोकेर हिँड्न सक्दैन भनेकी थिइन्।
उनले भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेन्टको हिसाबले ।’
झाँक्रीले आफूमाथि उठेका विषय सचिवालय बैठकमै प्रस्ट पार्न पाऊँ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी थिइन् । आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भई निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रूपमा प्रतिक्रिया नदिएको उनले बताइन् ।
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा (एस)का अध्यक्ष माधव नेपालविरुद्ध विस्फोटक अभिव्यक्ति दिएपछि झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको भन्ने हल्ला चलेको थियो । यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ।
‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ। पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं,’ उनले भनेकी थिइन् ।
पार्टीले आफूलाई स्पष्टीकरण सोधिएको कुरा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आए पनि निराधार भएको बताइन् । केही दिनपहिला बुटवलमा पार्टीनिकट युवा संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौँ’ भनेकी थिइन् । उक्त अभिव्यक्तिपछि पार्टीमा उनको आलोचना भइरहेको छ ।
उनको सिनो बोकेर हिँड्न नसकिने भन्ने अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएर विज्ञप्ति नै निकालेका थिए ।
आज पार्टि कार्यालय पुगेकी स्थायी कमिटी सदस्य झाँक्रीले आफ्ना विरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत हिसाबले लडाइँ लड्ने चेतावनी दिएकी छन्।
आफ्नो अभिव्यक्त्तिबारे पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, ‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नु भएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु।’
उनले पार्टीको निर्देशनपछि आफूले कुनै प्रतिक्रिया नदिएको भए पनि नेताहरूले आफ्ना विरुद्ध अनेकन् अभिव्यक्ति दिएको बताइन्।
तपाईको बिचार