काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएको छ। नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमबीच भएको सहमति अनुसार आगामी साउन २ गते दुई दलबीच एकता हुने भएको हो। वामदेव नेकपा कालमा पार्टी विभाजन गर्न नहुने पक्षमा उभिएका थिए ।
पछिल्लो समयसम्म उनले वामपन्थीहरुबीच एकताको लागि प्रयास गरेका थिए। पहिले पनि वामदेव कहिले एस त कहिले एमालेमा प्रवेश गर्ने हल्ला चलेको थियो। तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई एमालेमा भित्र्याउन चासो नदिएपछि वामदेवको बाटो एकीकृत समाजवादी पार्टीतर्फ मोडिएको हो।
यसअघि ०८१ पुसमा पनि दुई दलबीच एकताको तयारी गरिएको थियो। अन्तिम चरणमा पुगेको भनिएकै बेला गौतम एउटा मात्रै पार्टीसँग मिल्नेभन्दा पनि अभियानलाई नै अघि बढाउने बताउँदै पछि हटेका थिए। त्यसो त केही नेताले वैचारिक, सैद्धान्तिक तथा सांगठनिक विषयहरू टुंगिएको भन्दै एकीकृत समाजवादीसँग माघको पहिलो हप्ताभित्रै एकता हुने दाबी गरेका थिए।
त्यतिबेला एकीकृत समाजवादीसँग एकता गर्ने विषयमा छलफल गर्नुअघि वामदेवले नेकपा एमालेसँग एकता गर्ने भनेर छलफल अघि बढाए। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भाउ’ नदिएपछि फेरि एकीकृत समाजवादीतिरै छलफलमा लागेका थिए।
आज भएको सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ।

तपाईको बिचार