स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली - MirrorNepal.com

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली


  • Mirror Nepal २८ असार २०८२, आइतबार १४:४१:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नामक कार्यक्रममा सहभागिता जनाउनका लागि असार १४ गते स्पेनको सेभिया भ्रमणमा गएका थिए। कार्यक्रम सम्पन्न भई प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि यससँग जोडिएको एक विषयले संसदमा समेत प्रवेश पाएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले असार २४ गते प्रतिनिधि सभामा प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएकामध्ये केही मानिसहरू स्वदेश नफर्किएको भन्दै यसबारे प्रश्न उठाएकी थिइन्।

सांसद गौतमको भनाइपछि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप चलेको थियो। सत्ताधारी एमालेका सांसद महेश बर्तौलाले सबै फर्किएको दाबी गर्दै प्रतिवाद गरेका थिए। यसै क्रममा, परराष्ट्र मन्त्रालयले पनि एक सूचना जारी गर्दै प्रधानमन्त्रीको टोलीसँग स्पेन गएका सबै व्यक्तिहरू स्वदेश फर्किएको दाबी गरेको थियो।

आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा  नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको  आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे । उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजना बमोजिम स्वयंसेवी भावनाका साथ महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत सहभागी थिए ।

तपाईको बिचार

सम्बन्धित खबर