कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते - MirrorNepal.com

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते


  • Mirror Nepal २८ असार २०८२, आइतबार १५:२७:५३

काठमाडौं । काठमाडौंबाट दाङका लागि छुटेको यात्रुवाहक बस आज बिहान कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका-९, बड्वामा भएको उक्त दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार काठमाडौंबाट ३० जना यात्रु लिएर दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनाको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले बसमा सवार ३० मध्ये २९ जना घाइते भएको पुष्टि गरे ।

घाइते सबैको पहिचान खुलिसकेको छ । उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि चन्द्रौटास्थित संजिवनी सामुदायिक अस्पतालमा लगिएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य २० जनाको अवस्था मध्यम छ भने ६ जना सामान्य घाइते भएका छन् । मध्यम अवस्थाका केही घाइतेलाई पनि चन्द्रौटामा प्रारम्भिक उपचारपछि बुटवल पठाइएको डीएसपी अधिकारीले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर

रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १८:०३:०२

काठमाडाैँ । रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।