काठमाडौं । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा’ मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ ।
रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ ।
यसैबिच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमवार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् । इरानले आज इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि हमलाहरू पुनः सुरु गरेको छ ।
अर्कोतर्फ, यस युद्धमा लेबनानको उग्रवादी सङ्गठन हिजबुल्लाह पनि सहभागी भएको छ । इरानको समर्थनप्राप्त हिजबुल्लाहले इजराइलका धेरै ठाउँमा बमबारी गरेको छ । उसले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ ।
अल जजिराको रिपोर्टअनुसार अमेरिका र इजराइलले मिलेर अहिलेसम्म इरानका १ हजारभन्दा बढी स्थानमा हमला गरेका छन् । यस दौरान प्रारम्भिक ३० घण्टामा २ हजारभन्दा बढी बम खसालिएका छन् ।
यी हमलामा अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् । एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको खबर छ ।
फेब्रुअरी २८ मा सुरु भएको यस लडाइँको पहिलो दिन नै इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई मारिएका थिए । यसबाहेक, आइतबार ३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो ।
आजै कुवेतको रक्षा मन्त्रालयले देशमा “धेरै” अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ। एक लडाकु विमान आकाशबाट खसिरहेको दृश्य भिडियोमा कैद भएको छ।
हालसम्म कुवेत सरकारको आधिकारिक घोषणा नभए पनि एक पाइलटले इजेक्ट गरेर ज्यान बचाएको देखिन्छ। अल जजीराले थप विवरण पुष्टि गर्ने प्रयास गरिरहेको छ।
रक्षा मन्त्रालयका अनुसार सबै चालक दलका सदस्यहरू सुरक्षित छन्। कुवेती अधिकारीहरूले तुरुन्तै खोज तथा उद्धार अभियान सुरु गरी चालक दललाई अस्पतालमा उपचारका लागि पुर्याएका छन्। उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।
कुवेती अधिकारीहरू अमेरिकी पक्षसँग समन्वयमा काम गरिरहेका छन्। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।एजेन्सी
तपाईको बिचार