जसपा नेपालद्वारा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता - MirrorNepal.com

जसपा नेपालद्वारा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो। सोही बमोजिम संसदीय दलको बैठकबाट आज समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको बस्नेतले बताए।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले-कांग्रेस गठबन्धन सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा अल्पमतमा परेको हो । भूमि विधेयकमा समेटिएका विषयवस्तुमाथि असहमति जनाउँदै  जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् । ती सांसदहरू विपक्षमा रहेपछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो । बहुमतका लागि ३० मत हुनुपर्नेमा सरकारसँग अब कांग्रेसका १६, एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद मात्रै छन् । यी सबै जोड्दा २८ मत मात्र हुन्छ ।

तपाईको बिचार