दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिन्नँः मुख्यमन्त्री लामा - MirrorNepal.com

दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिन्नँः मुख्यमन्त्री लामा


काठमाडौं । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन्।

बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने बताए ।

‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,’ उनले भने, ‘सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो। मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन।’ आफूविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता रिक्त भएकाले नेता चयन प्रक्रिया अब सुरु हुने उनले बताए ।

मंगलबार संसदीय दलको बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री लामाको पक्षमा कुल ३७ मतमध्ये १५ मत परेको हो । उनकाे अविश्वासको पक्षमा २२ मत परेको छ । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका हुन् ।

बागमती प्रदेश सभापति इन्द्र बानियाँको नेतृत्वमा २१ सांसदले मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तपाईको बिचार