काठमाडौं । समाजवादी मोर्चाले अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढङगले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ।
मंगलबार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अव मोर्चालाई सुदृढ गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।
यसअघि विप्लवले दुई पार्टीको एकता हुनै लागेको भनेर प्रचण्डले सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति आक्रोश पोख्दै प्रश्न गरेको बैठकमा सहभागी एक नेताले बताए । उनले बैठकमा प्रचण्डलाई सोधेका थिए, ‘तपाईंले माधवजीसँग पार्टी एकता नजिक छ भनेर भन्नुभएछ । उसो भा के यो मोर्चाको औचित्य सकिएको हो ?’
ती नेताका अनुसार विप्लवले मोर्चा विघटनको प्रस्ताव नै राखे । उनले विप्लवको भनाइ उद्धृत गर्दै भने, ‘मोर्चा गठनको उद्देश्य अनुरूप नहिँड्ने र आ–आफ्नो बाटो लाग्ने हो भने मोर्चा विघटन गरे भइगयो नि ।’
बैठकमा प्रचण्डले मोर्चाको औचित्य झनै बढेको र माधव नेपाल र आफ्नो समाजवादी मोर्चालाई नयाँ ढंगले कसरी बलियो बनाउने भन्नेबारेमै छलफल केन्द्रित भएको जवाफ विप्लवलाई दिएका थिए ।
बैठकपछि जानकारी दिँदै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समाजवादी मोर्चालाई कसरी औचित्यपूर्ण बनाउने भन्नेबारेमै बहस केन्द्रित रहेको बताए ।
उनले भने, ‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं। नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्यो र आफ्ना सिमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्यो।’
उनले देशको अवस्था जटिल रहेको भन्दै जनता निरासावादको शिकार भइरहेको बताए।
‘अहिले देशको स्थिति जटिल अवस्थामा छ। एउटा गणतन्त्रलाई थ्रेड गर्ने प्रवृति र हर्कतहरु अगाडि आइरहेका छन्। अहिलेका राज्यका सञ्चालकहरुको तरिका हेर्नुभयो भने बडो डरलाग्दो छ। निरासाबादको शिकार देश भएको छ। जसका कारण युवाहरु पलायन छन्। राज्यको पैसा विदेश पलायन भइरहेको छ। देशमा के होला भन्ने ठुला प्रश्न नेपाली जनताका दिमागमा छन्,’ उनले भने।
तपाईको बिचार